आज विश्व स्वास्थ्य दिवस : विश्वसनीय सूचना सम्प्रेषण गर्न स्वास्थ्य मन्त्री ढकालको आग्रह



Download our app to get more features

काठमाडौ, २५ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को स्थापना दिवसका अवसरमा आज कोरोना भाइरसका कारण उत्पन्न संवेदनशील परिस्थितिमा विश्वसनीय सूचना सम्प्रेषणका लागि आग्रह गरेका छन् ।

मन्त्री ढकालले आमसञ्चार क्षेत्रको भूमिका विशेष र महत्वपूर्ण रहने भएकाले कोरोना भाईरससम्बन्धी जानकारी, खोजमूलक, वस्तुपरक र वास्तविक सूचनाको प्रभावकारी र विश्वसनीय सम्प्रेषणले मात्र समाजमा सकारात्मक योगदान पुर्याउने उल्लेख गरेका छन् । यस कार्यका लागि सम्पूर्ण सञ्चारकर्मीबाट रचनात्मक भूमिकाको अपेक्षा गरेको उनले बताए । आज भन्दा ठिक ७२ वर्ष अघि दोस्रो विश्वयुद्धले थिलथिलो भएको विश्वको स्वास्थ्य स्थितिलाई सुधार गर्दै स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्ने ध्येयले स्थापित विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को स्थापना दिवसको अवसरमा सम्पूर्ण  नेपालीलाई शुभकामना व्यक्त गरे । कोभिड–१९ महामारीको परिस्थितिमा नर्स र मिडवाईफहरुलाई सहयोग गरौं भन्ने नाराका साथ मनाउन लागिएको विश्व स्वास्थ्य दिवश २०२० ले नर्स, मिडवाईफ लगायत सम्पूर्ण चिकित्साकर्मीको महत्वलाई अझ बढवा दिएको मन्त्री ढकालले बताए । 

यसैगरि अहिलेको विषम परिस्थितिमा मानव जातिकै अस्तित्वमाथि धावा बोलिरहेको कोरोना महामारीविरुद्धको लडाईको अग्रमोर्चामा रहेर सम्पूर्ण स्वास्थ्यकर्मीले अदम्य सहास र उत्साहका साथ मानव स्वास्थ्य रक्षाका लागि अमूल्य योगदानप्रति स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तर्फबाट उच्च सम्मान व्यक्त गर्ने र सरकारको तर्फबाट चिकित्साकर्मीलाई सुरक्षा सामाग्री बिना काम गर्ने परिस्थितिको सिर्जना हुन नदिने बताएका छन् ।

कोरोना महामारीको बेला सरकारी, निजी वा गैरसरकारी सबै क्षेत्रमा कार्यरत चिकित्साकर्मी, चिकित्सामा संलग्न सबैलाई सतप्रतिशतसम्म अतिरिक्त भत्ता उपलब्ध गराउने र २५ लाखसम्मको बीमाको व्यवस्था गर्ने निर्णय गरिसकेको पनि बताए । 

Last modified on 2020-04-07 13:26:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts