सेती अस्पतालमा छनौट भएका स्टाफ नर्सले कोरोनाको त्रासपछि नियुक्ति लिन मानेनन्

धनगढी, २४ चैत । सेती प्रादेशिक अस्पतालमा पटक–पटक नियुक्तिका लागि बोलाईएका ११ जना स्टाफनर्सले नियुक्ति लिन आनाकानी गरेका छन् ।
माघ १० गतेको सूचनापछि लिखित तथा अन्तरवार्ता परिक्षाबाट योग्यता क्रममा रहेका बैकल्पिक आवेदकलाई चैत १२ गतेदेखि पटक–पटक नियुक्तिका लागि बोलाईएपनि उनीहरुले आनाकानी गरेका हुन् ।
अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार १० गतेको विज्ञापनपछि पहिलो रोजाईमा रहेका २३ जनालाई सुरुमा भर्ना गरेको थियो । ‘२० जनालाई बैकल्पिकमा राखिएको थियो । कोरोनाको जोखिम बढेपछि बैकल्पिकमा नाम निकालेका १५ जनालाई नियुक्तिका लागि पटक–पटक बोलाएका थियौँ । तर अहिले सम्म चार जनाले मात्रै नियुक्ति लिएका छन्’ उनले भने ।
उनका अनुसार बैकल्पिकमा नाम निकालेका बाँकी पाँच जनालाई पनि नियुक्तिका लागि तीन दिनको समय राखिएको छ ।
अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेका अनुसार पटक–पटक सूचना जारी गरिए पनि नियुक्तिका लागि नआएपछि ११ जनालाई अन्तिम तीन दिनको म्याद दिईएको बताए । ‘बैकल्पिकमा नाम निकालेका स्टाफनर्सलाई नियुक्तिका लागि पटक–पटक फोन पनि गरेका छौं । तर अहिले सम्म चार जनाले मात्रै नियुक्त लिएका छन् । अन्तिम पटकका लागि सूचना जारी गरेका छौं । उहाँहरु आउनुभएन भने विकल्प खोज्छौ ।’
प्रदेश सरकारले कोरोनाको जोखिम बढेसंगै सेती प्रादेशीक अस्पताललाई कोरोना विशेष अस्पताल घोषणा गरिसकेको छ । अहिले अस्पतालमा चार जना संक्रमितको उपचार भईरहेको छ भने ६ जना शंकास्पद बिरामीको आईसोलेसनमा उपचार भईरहेको छ ।