बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा अब कोरोनाका बिरामीको मात्रै उपचार हुने

काठमाडौं, २४ चैत । सशस्त्र प्रहरीको बलम्बुस्थित एपीएफ अस्पतालमा उपचाररत २८ जना बिरामीलाई छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा स्थानान्तरण गरिएको छ । एपीएफ अस्पताललाई कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित बिरामीको मात्रै उपचार केन्द्र बनाउने निर्णयपछि सशस्त्र प्रहरी मुख्यालयले भर्ना भएका २८ जनालाई वीरेन्द्र सैनिक अस्पताल स्थानान्तरण गरिएको हो ।
एक सय १० बेड क्षमताको एपीएफ अस्पतालमा सय भन्दा बढी बिरामी भर्ना भएर उपचार गराइरहेका थिए । त्यसमध्ये पुनः चेकजाँच र औषधि सेवन गरेर घरमै आराम गर्न मिल्नेलाई डिश्चार्ज गरिएको र बाँकीलाई अन्यत्र स्थानान्तरण गरिएको हो । डिश्चार्ज गर्न मिल्नेलाई घर वा ब्यारेकमा पठाएर बाँकीलाई सेनाको अस्पतालमा स्थानान्तरण गरिएको सशस्त्र प्रहरी प्रवक्ता डीआइजी प्रविणकुमार श्रेष्ठले बताए ।
बिरामी सारिएसँगै एपीएफ अस्पतालबाट छिट्टै कोरोना संक्रमित तथा आशंका लागेमा मानिसलाई भर्ना गरेर उपचार गरिने जनाइएको छ । सशस्त्रका सबै संयन्त्र बलम्बुबाट स्थानान्तरण कोभिड–१९ रोगको उपचारका लागि डेडिकेटेड अस्पतालमा रुपान्तरण गरिएपछि बलम्बुस्थित अस्पताल परिसर र आसपास रहेका सशस्त्र कार्यालय पनि संयन्त्र अन्यत्र स्थानान्तरण गरिएको छ ।