चितवनमा आजदेखि औपचारिक रुपमा कोरोना परीक्षण, सेवाको गुणस्तरमा ढुक्क हुन आग्रह



Download our app to get more features

चितवन, २४ चैत । चितवनमा आजदेखि औपचारिक रुपमा कोरोना परीक्षण सुरु भएको छ ।

परीक्षणको दायरा बढाउँदै चितवनको भरतपुर–१० स्थित वाईपास रोडमा रहेको राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा स्थापना गरिएको कोरोना प्रयोगशालाबाट आजदेखि औपचारिक रुपमा नमूना परीक्षण सुरु गरिएको हो ।

विज्ञ सहितको अन्य प्राविधिक टोलीले शुक्रबार र शनिबार साँझसम्म प्रयोगशालाका उपकरण जडान गरेका थिए । अन्य बाँकी रहेका काम आइतवार सकेर प्रयोगशाला सञ्चालनमा आएको छ । प्रयोगशालाको गुणस्तर र रिपोर्टको विश्वसनीयतालाई क्रस चेक गर्ने उदेश्यले आइतवार हेटांैडा पठाइएको एउटा नमूना यही परीक्षण गरिएको छ । 

आजबाट नियमित कोरोना नमूना परीक्षण सुरू गरिएको प्रयोगशाला स्थापना तथा सञ्चालन उपसमितिका संयोजक डा. कृष्ण सागर शर्माले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । 

आइतवार दिउँसो एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बिरामीको स्वाब (नमुना) प्राविधिकलाई हस्तान्तरण गरेर प्रयोगशालाको औपचारिक रूपमा शुभारम्भ गरिन् । सबैको साथ र सहयोगका कारण ७२ घण्टाभित्र उच्च स्तरको प्रयोगशाला संञ्चालनमा आएको उनले बताइन् । 

भरतपुर अस्पतालका अध्यक्ष एवम् चितवनको कोरोना विशेष अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले भरतपुर कोभिड १९ परिक्षण प्रयोगशाला संञ्चालनमा आए संगै रोग नियन्त्रणमा प्रभावकारि हुने विश्वास व्यक्त गरे ।

यसअघि चितवनबाट कोरोनाका सम्भावित तथा शंकास्पद बिरामीको नमुना संकलन गरी परिक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौँ र केही दिनयता हेटौडा पठाइदै आएको थियो । जसले गर्दा परीक्षणको रिपोर्ट आउन ढिलाई हुने गरेको थियो। अब चितवनबाट कोरोना परीक्षण सुरु भएसँगै त्यसले बिरामी पत्ता लगाउन तथा यदि पोजेटिभ आइहालेमा उपचार गर्न समेत सहज हुने भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. श्रीराम तिवारीले बताए ।

शनिबार र आइतबार प्रयोगशालामा प्रयोग हुने सामग्रीको क्वालिटी कंट्रोल तथा स्ट्यान्डर टेष्ट भएको छ । जसको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंका सिनियर भाइरोलोजिस्ट विमलेश झाको नेतृत्वमा काम भएको थियो ।

प्रयोगशाला सञ्चालनको लागि बीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका सिनियर मेडिकल ल्याब टेक्नोलोजिस्ट मदन पाण्डे र पुरानो मेडिकल कलेज भरतपुरका  वायो टेक्नोलोजिस्ट डा. ब्रजेस झालाई फोकल पर्सनका रुपमा  जिम्मेवारी दिइएको छ । 

एक पटकमा ३ सयका दरले २४ घण्टा (१ दिन) मा ९ सय नमूना परीक्षण गर्न सकिन्छ । तर, अहिले एक सिफ्ट्मा ९० देखि ९६ वटासम्म नमूना परीक्षण गर्ने योजना रहेको डा. शर्माले बताए । आवश्यक परेको खण्डमा यसको क्षमता बढाउदैं लैजान्छैं । प्रयोगशाला स्थापना तथा सञ्चालनको लागि विज्ञ सहितको ७ सदस्यीय टोलि गठनगरि काम भइरहेको पनि उनले बताए ।

‘ल्याबको उपकरण तथा त्यहाँ प्रयोग हुने गुणस्तरीय नियम केन्द्रीय प्रयोगशाला टेकु काठमाडौंको जस्तै छ । विज्ञताहासिल गरि लामो अनुभव भएका प्राविधिकटोलि हुनुहुन्छ । हामी ल्याबको तर्फबाट गुणस्तरीय सेवा र विश्वसनीय रिपोट दिन्छौं,’ संयोजक डा. शर्माले भने- ‘भरतपुर महानगरपालिका लगायतका जनताको चाहना पुरा गर्ने महानगर प्रमुख रेनु दाहालको दृढता, स्वास्थ्यमन्त्री एवं बिज्ञ टोलीको सक्रियता र सबै क्षेत्रको सहयोगको कारण भरतपुरमा कोरोना भाइरस परीक्षण ल्याब स्थापना गर्न सफल भएका छौं ।’

प्रयोगशालामा कार्यरत क्लिनिकल माईक्रोबायोलोजिस्ट प्रदिप हमालले आफुहरू जतिसक्दो गुणस्तरीय सेवा दिने उदेश्यले काम गरिरहेको बताए ।

बिहिबार स्वास्थ्य मन्त्रालय सहितको स्थानीय सरोकारवाला टोलीले प्रयोगशाला कहाँ बनाउने भन्ने बारे निरीक्षण गरेको थियो । निरीक्षणपश्चात् राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुरलाई उपयुक्त भएको जनाएको थियो । 

भरतपुर महानगरपालिकाको पहलमा भरतपुर अस्पतालको स्वामित्वमा रहने गरी प्रयोगशाला सञ्चालनमा ल्याइएको बताइएको छ ।

Last modified on 2020-04-11 10:09:37

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts