दोस्रो चरणमा कोरोना प्रवेश गरेपछि सुदूरपश्चिम र बागलुंगमा विशेष टोली जाँदै



Download our app to get more features

काठमाडौं, २४ चैत । कोभिड १९ को उच्च जोखिमलाई ध्यानमा राखी आज विशेष टोली सुदूरपश्चिम र बागलुंग जाँदै छ ।

कोरोनाको जोखिमलाई आँकलन गर्दै सरकारले सुदूरपश्चिम प्रदेशमा धेरै सङ्ख्यालाई समेटेर कोरोना जाँचको दायरालाई फराकिलो बनाउँदै टोली त्यस तर्फ पठाउन लागेको हो । 

पछिल्लो समय सुदूरपश्चिममा मात्रै ४ जनामा कोरोना पुष्टि भएपछि प्रदेश सरकारले केन्द्र सरकारसँग समन्वय गरेर टोली र मेशिनका लागि माग गरेको थियो ।

सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा.गुणराज अवस्थिले जाँचको दायरालाई बढाउँदै तीव्रता दिनका लागि त्रिभुवन विश्व विद्यालयमा रहेका थप ५ वटा मेसिन पनि माग गरिएको बताए ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेर क–कसलाई आरडीटी प्रविधिबाट गर्ने परीक्षणमा संलग्न गर्ने भन्ने उल्लेख गरेको छ । 

मन्त्रालयका अनुसार आइतवार नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तीव्र जाँच किट प्रयोगका लागि सहमति दिएको छ । यो किटबाट कोरोना परीक्षण गर्दा नभएको पाइएमा ९९ दशमलव ९९ प्रतिशत सही मान्न सकिन्छ । तर, कोरोना भएको पाइएमा भने पीसीआर विधिबाट पुनः परीक्षण गरिने मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले बताए । यद्यपी विश्व स्वास्थ्य सङ्गठनले यो विधिको जाँचलाई मान्यता नदिएको भन्दै स्वास्थ्य मन्त्रालयले केही दिनअघि तत्काल प्रयोगमा नल्याउन भनेको थियो ।  

आइतवार नै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदको संयुक्त बैठक बसेर तीब्र जाँच किटको प्रयोगमा खटिने १४ जनाको टोलीलाई अभिमुखीकरण तालिम दिइएको छ । 

तालिमप्राप्त टोली आज बागलुङ र सुदूरपश्चिम प्रस्थान गर्ने छन् । सुदूरपश्चिममा सुरुमा कैलाली र कञ्चनपुरका क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण गरिनेछ । कोभिड १९ सम्बन्धी उच्चस्तरीय समिति सचिवालयका प्रवक्ता एवं प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीकाअनुसार सात–दश दिनमा करिब २० हजार मानिस परीक्षणको दायरामा आउने योजना बनाइएको छ । 

बागलुङमा भने कोरोना संक्रमितको बासस्थान र उनीहरुको सम्पर्कमा आएकाको परीक्षण गरिने छ । चैत महिनामा विदेशबाट फर्किनेहरुलाई पनि ¥यापिड टेस्टमा समावेश गर्ने तयारी छ । बागलुङमा आठ सय १५ जना विदेशबाट फर्किएका व्यक्ति छन् । 

यसैबीच, सुदूरमश्चिममा मात्रै कोरोना संक्रमितको संख्या चार पुगेको र संक्रमण जोखिमको दोस्रो चरणमा प्रवेश गरेपछि क्वारेन्टाइन अवधि २१ दिन पु¥याइएको छ । 

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशवासीका नाममा सम्बोधन गर्दै हाल १४ दिने क्वारेन्टाइनमा बसिरहेका अब २१ दिनसम्म बस्नुपर्ने बताएका छन् । 

सुदूरपश्चिम कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको भन्दै उनले सम्भावित जोखिमको सामना गर्न प्रदेश सरकार गम्भीरतासाथ तयारीमा जुटिरहेको बताए ।

कोरोनाको उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीलाई विषेश अस्पताल घोषणा गर्नुका साथै महाकाली प्रादेशिक अस्पताल, जिल्ला अस्पताल, स्वास्थ्य कार्यालयलाई कोरोनाको उपचार व्यवस्थापनका लागि आवश्यक रकम व्यवस्था गरिएको उल्लेख गरे ।

भारत लगायतका देशबाट स्वदेश प्रवेश गर्न चाहने नेपाली सीमा क्षेत्रमा अलपत्र परेकोप्रति संघीय सरकारसँग आवश्यक जानकारी गराइएको उनको भनाइ थियो । 

मुख्यमन्त्री भट्टले अहिले उत्पन्न जटिल अवस्थाका कारण दैनिक ज्यालादारी गरी खाने र असहाय व्यक्तिको जीवनयापनका लागि सरकारले राहत प्याकेज उपलब्ध गराउन पहल गरिएको जानकारी गराए । 

Last modified on 2020-04-06 08:41:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts