प्रादेशीक अस्पताल जनकपुरमा ३४ जनाको स्वाब संकलन, ६ जनाको रिपोर्ट आयो

जनकपुरधाम, २३ चैत । प्रदेश नम्बर २ मा कोरोना परीक्षण सुरु भएको तीन दिन भएको छ । प्रादेशीक अस्पताल जनकपुरमा सुरु भएको कोरोना परीक्षणका लागि हालसम्म ३४ वटा स्वाब परीक्षण गरिएको छ । जसमा ६ वटाको रिपोर्ट आएको र ती ६ वटैमा कोरोना नभएको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर २ का प्रदेश सचिव डा.रामप्रसाद घिमिरेले नियमित प्रेस ब्रिफिङ गर्दै प्रदेश २ मा हालसम्म कुनैपनि व्यक्तिमा कोरोना पुष्टि नभएको बताए ।
प्रेस ब्रिफिङको क्रममा सचिव घिमिरेले भारतको रक्सौल हुँदै वीरगञ्ज भएर नेपाल आउन लागेका १५ जना नेपालीलाई भारतको रक्सोल स्थित रक्सौल हाईस्कुलमा रहेको क्वारेन्टाइनमा राखिएको जानकारी गराए ।
उनीहरुको सम्पूर्ण खानपानको व्यवस्था भारतीय पक्षबाट नै भइरहेको जानकारी दिँदै उनले क्वारेन्टाइनमा बस्नेहरुको सुरक्षाको विषयमा सम्बन्धीत अधिकारीहरुले भारतीय पक्षसँग सम्पर्क गरिरहेको बताए ।
उनले प्रदेश मै कोरानाभाइरसको जाँचलाई अझ तीव्रता दिने भन्दै कोरानाभाइरसको बिरामी हालसम्म प्रदेशमा नभेटेपनि ढुक्क भएर अवस्था नरहेकाले यसका लागि सबै पक्ष सचेत भएर लाग्नुपर्ने बताए ।
यस्तै प्रदेश दुईमा हालसम्म लकडाउन उल्लघंन गर्ने २ हजार १ सय ३५ सवारी साधनहरुलाई सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएको छ भने पछिल्लो २४ घण्टामा १ सय ६६ वटा सवारी साधनहरु नियन्त्रणमा लिइएको छ । त्यसैगरी यस प्रदेशमा रहेका १ सय ९ वटै नाकाहरु पूर्ण रुपमा बन्द रहेको छ ।