नक्कली चिकित्सक बनेर काठमाडौंबाट काँकडभिट्टा पुगे दुई युवक, लागू औषध खोज्न हिडेको प्रहरीको आशंका



Download our app to get more features

झापा, २३ चैत । काठमाडौंबाट चिकित्सकको भेषधारण गरेर झापा आएका दुई युवालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले आज बिहान नियन्त्रणमा लिएको छ ।

देशभर लकडाउन रहेको ती युवा बा६च ७०१९ नम्बरको कारमा धरान हुँदै आइबार बिहान काँकडभिट्टा आइपुगेको प्रहरीले जनाएको छ । नियन्त्रणमा पर्नेमा ३३ वर्षीय दिलकुमार श्रेष्ठ र २८ वर्षीय गणेश अधिकारी छन् ।  जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न आएको बताएका उनीहरु मध्ये एक जनाले डा. विनोद श्रेष्ठ नामको नक्कली परिचय पत्र बोकेका थिए ।

चिकित्सक दावी गर्दै उनीहरु काठमाडौंदेखि नै सुरक्षा जाँच छल्दै काँकडभिट्टा आइपुगेका थिए । काँकडभिट्टामा प्रहरीले उनीहरुलाई मेडिकल काउन्सिलको दर्ता नम्बर माग्दै नदिएपछि नक्कली चिकित्सक भन्ने पोल खुलेको थियो । दुबै जनालाई प्रहरीले आवश्यक अनुसन्धान अघि बढाउँदै तत्कालका लागि मेचीनगरको क्वारेन्टाइनमा पठाएको छ । उनीहरुको सवारी साधन प्रहरी कार्यालयमै राखिएको छ । प्रहरी उपरीक्षक कोइरालाले नियन्त्रणमा लिइएका दुबै व्यक्ति लागू औषधको खोजीका लागि छटपटाउँदै आइपुगेको आशंका गरेको बताए।

Last modified on 2020-04-05 16:37:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts