रुपन्देहीमा आजबाट कोरोना परीक्षण हुँदै

रुपन्देही, २३ चैत । रुपन्देहीको ओम सतिया गाउँपालिकास्थित गहुँबाली केन्द्रको प्रयोगशालामा आजबाट कोरोना भाईरस परीक्षण हुने भएको छ। विज्ञसहितको प्राविधिक टोलीले शनिवार र आईतबार दुई दिन लगाएर प्रयोगशालाका उपकरण जडान गरि सकेर आइतबारदेखि प्रयोगशाला सञ्चालनमा ल्याउन लागेको हो ।
प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले संञ्चालन हुन लागेको कोरोना भाईरस (कोभिड–१९) परीक्षण प्रयोगशाला अवलोकन गरेका छन्। प्रदेश ५ को जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्रकुमार गिरीले नमुना परीक्षण सकेसम्म आइतबारदेखि नै गर्ने बताए । प्रयोगशालामा प्रयोग हुने सामग्रीको क्वालिटी कंन्ट्रोल तथा स्ट्यान्डर टेष्ट हुन्छ त्यसपछि ल्याब परिक्षण सुरु हुने डा. गिरीले बताए ।
क्वालिटी कंन्ट्रोल तथा स्ट्यान्डर टेष्टका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले प्रदेश ५ को लागी बिष्णु रायमाझीलाई तोकेको थियो । प्रयोगशाला सञ्चालनको लुम्बिनी प्रादेशिक अस्पतालबाट सुमन साँपकोटा र आशिष श्रेष्ठसहितको टोलीले कार्य गरिरहेको जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्रकुमार गिरीले बताए । डा. गिरीका अनुसार यस प्रयोगशालाबाट एक पटकमा १६ बटासम्म नमुना परीक्षण गर्न सकिन्छ । आवश्यक परेको खण्डमा यसको क्षमता बढाउदैं लैजाने बताए ।
यसअघि बुटबलबाट कोरोनाका सम्भावित तथा शंकास्पद बिरामीको नमुना संकलन गरी परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौँ पठाइदै आएको थियो। जसले गर्दा परीक्षणको रिपोर्ट आउन ढिलाई हुने गरेको थियो । बुटबलपछि क्रमशः दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जको भेरी अस्पतालमा कोरोना प्रयोगशाला स्थापना गरी परीक्षण शुरु गर्ने डा. गिरीले बताए ।