कोरोना भाइरसका लागि तयार गरिएको खोपको परीक्षण सफल भएको चीनको दावी

काठमाडौं, २३ चैत । कोरोना भाइरसका लागि तयार गरिएको खोप लगाएका व्यक्तिहरु सुरक्षित रहेको चीनले दावी गरेको छ ।
काभिड–१९ का लागि चीनमा बनाइएको भ्याक्सिन लगाएका १४ जना चिनियाँ स्वयंसेवकहरु स्वस्थ रहेको बताइएको छ ।
डेली मेल सञ्चार संस्थाले जनाए अनुसार क्वारेन्टाइनमा रहेका एक सय ८ जनालाई कोरोना विरुद्धको खोप लगाइएको थियो । खोप लगाएका एक सय ८ जनामध्ये १८ जना १४ दिनको क्वारेन्टाइन बसाइपछि पनि स्वस्थ रहेका छन् ।
चीनको वुहानमा गरिएको कोरोना विरुद्धको खोपको पहिलो परीक्षणमा भाग लिएका १ सय ८ जना स्वय्मसेवकहरुमध्ये १८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।
खोप परीक्षण गरिएका सबै स्वयंसेवकहरुलाई ६ महिनासम्म वैज्ञानिकहरुले निगरानीमा राख्नेछन् र पछि उनीहरुको रगतको नमूना लिएर एन्टीबडिजलाई सूक्ष्म रुपमा अनुसन्धान गरिनेछ । यदि यो सुई प्रभावकारी र भरपर्दो भएको पत्ता लागेमा वैज्ञानिकहरुले विदेशमा थप अनुसन्धान गर्ने बताएका छन् ।
चीनका वैज्ञानिकहरुले गत मार्च १७ मा नै यो खोपको क्लिनिकल परीक्षण गरेका थिए । चीनको सबैभन्दा उच्च तहको सैनिक प्रयोगशाला चेन वेइका वैज्ञानिकहरुले यसको परीक्षण गरेको बताइएको छ ।
खोप परीक्षण गरिएकामा १८ देखि ६० वर्ष उमेर समूहका मानिसहरु छन् । दुई समूहमा विभाजन गरेर उनीहरुमा खोप लगाइएको चीनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।
खोप लगाइएका सबै व्यक्तिहरु वुहनास्थित केन्द्रिय स्वास्थ्य विभागको आइसोलेसनमा रहेका छन् ।
खोप परीक्षणका लागि सहभागि भएका एक युवकले खोप लगाउँदा थोरै दुखाई भएपनि आफूलाई त्यसले रोगसँग लड्न मद्दत गर्ने बताएका छन् । जिन गुवानपिंगले नियमित सुई लगाएको जस्तै यो खोप लगाउँदा सामान्य दुखाई हुने अनुभव सुनाएका छन् ।