बुटबल उपमहानगरद्वारा तामनगरमा ५० शय्याको सुविधासम्पन्न क्वारेन्टाइन निर्माण



Download our app to get more features

बुटवल, २२ चैत । बुटवलले वडा नम्बर १२ को तामनगरमा रहेको कोरिया नेपाल इन्ष्टिच्युट अफ टेक्नोलोजी कलेजको उपयुक्त भवनमा ५० वेडको व्यवस्थित क्वारेन्टाइन निर्माण गरेको छ ।

भोजनालय, आवास तथा शौचालय र ज्वरो क्लिनिक सहितको प्राथमिक स्वास्थ्य सेवासमेत उपलब्ध गराउने गरि क्वारेन्टाइन निर्माण गरिएको वडा अध्यक्ष दुर्गा सुवेदीले बताए । बुटवलका विभिन्न स्थानमा फिवर क्लिनिक सञ्चालनमा रहेका छन् । जहाँ शुक्रबार मात्रै करिब ६१ जनाले परीक्षण गराएको स्वास्थ्य शाखाका अधिकृत कुन्दनकुमार सिंहले बताए । सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरुमा शनिबार पनि फिवर क्लिनिक सञ्चालन गर्ने तयारी भइरहेको सिंहले बताए ।

कोरोना विशेष अस्पतालमा आइसीयू थपिँदै                                                                        

बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा बुटवल धागो कारखानाको खाली भवनमा सञ्चालनमा रहेको कोरोना विशेष आइसोलेसन अस्पतालमा १० वटा आइसीयू वेड थप गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

त्यहाँ गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले प्राविधिक सहयोग र सहकार्य गरिरहेको प्रादेशिक अस्पतालका अध्यक्ष तथा कोरोना विशेष अस्पताल सञ्चालन एवम् समन्वय कार्यदलका सहसंयोजक सूर्यबहादुर भट्टराईले बताए।उनले दुई दिन भित्रमा सञ्चालनमा ल्याउनेगरि काम भइरहेको बताए ।

सीमा नजिक ६ जनामा कोरोना संक्रमण देखिएपछि रुपन्देहीमा त्रास
रुपन्देही २२ चैत्र छिमेकी मुलुक भारतमा नेपालकै नजिकसम्म कोरोना पोजिटिभ देखिएपछि यस क्षेत्रका बासिन्दाले थप सर्तकता अपनाउन तथा भारतीय तरकारीको प्रयोग नगर्न आग्रह गरिरहेका छन् ।

भैरहवाबाट करिब २० किलोमिटरको दुरीमा तथा रुपन्देहीकै मर्चवारबाट पाँच किलोमिटर दुरी भित्र पर्ने कोल्हुई क्षेत्र आसपासमा कोरोना पोजिटिभ बिरामी भेटिएको भारतीय संचार माध्यमले जनाएका छन् । कोल्हुई र पुरन्दरपुर क्षेत्रमा ६ जना कोरोना संक्रमित देखिएका छन् । दिल्लीको तबलिगी मरकजमा सहभागी भई आएका भारत महाराजगंज जिल्लामा संक्रमितको संख्या बढेको छ ।

मरकजबाट २३ जना फर्केर आएको र तिनीहरु मध्ये ६ जनामा कोरोना देखिएको छ । यिनीहरुलाई भारत महाराजगंज जिल्लामा रहेको मिठौरा स्वास्थ्य चौकीको आईसोलेसनमा राखिएको छ ।

यस्तै संक्रमितको परिवार तथा मरकजबाट आएका बाँकीलाई पनि क्वारेन्टाईनमा राखिएको भारतीय प्रहरीले जानकारी दिएको छ ।

कोल्हुई रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारबाट करिब ५ किलोमिटरकै दुरीमा रहेको छ । शहरी क्षेत्रमा लकडाउनको प्रभाव देखिए पनि ग्रामीण क्षेत्र अझ बिशेष गरि मर्चवार क्षेत्रमा लकडाउनको प्रभाव देखिएको छैन ।

मर्चवार क्षेत्रको मूख्य बजार नै भारतको कोल्हुई लगायतको क्षेत्र भएको कारण यो क्षेत्रमा जोखिम बढेको छ । सीमामा दुवै देशका सुरक्षाकर्मीले निगरानी बढाए पनि खुल्ला सीमाका कारण दुवै देशको नागरिकहरु सुरक्षाकर्मीको आँखा छलेर सीमा वारपार गरि रहेका छन् ।

मर्चवार क्षेत्रबाट नै तरकारी, खाद्यन्न लगायतको बस्तुहरु लुकाई छिपाई नेपाल ल्याउने र यहाबाट नेपालकै बिभिन्न भागमा जाने भएकोले कोरोनाको जोखिममा नेपाली पनि रहेको भन्दै सरोकारवालाले चिन्ता ब्यक्त गरेका छन् ।रुपन्देही प्रशासन भने मर्चवार क्षेत्रमा सुरक्षा चुस्त रहेको दावी गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी खड्क बहादुर खत्रीले सीमा क्षेत्रको सबै ठाउमा प्रहरी खटाएको बताए ।

यद्यपी खुल्ला सीमाको कारण केही समस्या आएकोले सबैलाई यस बारे अपनत्व लिन उनले आग्रह गरेका छन् । प्रहरी संगै त्यस क्षेत्रमा स्थानिय तहहरुले पनि सीमामा निगरानी बढाउन र नेपाल आउने ब्यक्तिको बारेमा जानकारी दिन खड्काले आग्रह गरे ।

Last modified on 2020-04-04 18:07:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts