स्वास्थ्य मन्त्रालयको एप र वेबसाईटमा नाम दर्ता गराएकामध्ये १ सय २६ जना रेड जोनमा

काठमाडौं, २२ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको वेबसाईट र एपमा नाम दर्ता गराएकामध्ये १ सय २६ जनाको कोरोना परीक्षण गर्ने भएको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङको क्रममा वेबसाईट र एपमा हालसम्म ६५ सय २६ जनाले आफ्नो लक्षणसहित नाम दर्ता गराएकोमा १ सय २६ जना रेड जोनमा रहेको बताएको छ ।
मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले नाम दर्ता गराएकामध्ये १ सय २६ जनाको लक्षण कोरोनासँग मिल्दोजुल्दो भएकाले उनीहरुको कोरोना परीक्षणको काम भइरहेको बताए ।
उनले हालसम्म नेपालमा १४ सय ४१ जनाको नमूना परीक्षण गरिएकोमा ९ जनामा पुष्टि भएको पनि बताए । आज मात्रै सेती प्रादेशिक अस्पतालमा थप ३ जना नागरिकमा कोरोनाको पुष्टि भएको जानकारी गराए ।
धनगढीमा देखिएका एक जना महिलाको कुनैपनि ट्राभल हिस्ट्री नभएकाले व्यक्तिबाट व्यक्तिमा कोरोना सरेको यो पहिलो घटना भएको भन्दै उनले अझै नेपाल सचेत हुनुपर्ने र सबै जनाले सचेत भएर बस्नु पर्ने बताए ।
यस्तै मन्त्रालयको कल सेन्टरमा हालसम्म ३४ सय ६५ जनाले कोरोनालाई लिएर कल गरेको र त्यसमा विशेषगरी पीपीईको दुरुपयोगको विषयमा जिज्ञासा राखेकोमा सरकारले त्यसो नगर्न आग्रह गरेको छ ।