कोरोनाको उपचारमा खटिएपछि २२ जना स्वास्थ्यकर्मी डेराबाट निकालिए

सिन्धुली, २२ चैत । सिन्धुलीमा २२ जना स्वास्थ्यकर्मीलाई घरबेटीले निकालेका छन् ।
सिन्धुली अस्पतालमा कार्यरत २२ जना स्वास्थ्यकर्मीलाई घरबेटीले आफ्नो घरमा बस्न रोक लगाएपछि उनीहरु विचल्लीमा परेका छन् । कोरोनाको आशंकामा आइसोलेसनमा बिरामीको सङ्ख्या थपिँदै गएपछि अस्पतालमा कार्यरत स्वस्थ्यकर्मीले डेरामा बस्नबाछ बञ्चित भएका छन् ।
डेरामा जाँदा दुव्र्यवहार हुन थालेपछि स्वास्थ्यकर्मीहरु अहिले अस्पतालमै बस्न थालेका छन् । डेरामा जाँदा घरभेटीले दुव्र्यवहार गरेको गुनासो आएपछि अस्पतालभित्रै बसोबासको व्यवस्था मिलाइएको अस्पताल विकास समितिका अध्यक्ष प्रह्लाद पोखरेलले बताए ।
‘अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको मनोबल उच्च पार्ने समयमा यस्तो समस्या आएको छ । अस्पताल विकास समितिले कार्यरत सबै स्वास्थ्यकर्मीको मनोबल उच्च पार्दै अस्पतालमै खाने, बस्ने तथा सुत्ने व्यवस्था मिलाएका छौँ,’ उनले भने, ‘अस्पतालमा कार्यरत अन्य कर्मचारीलाई पनि अस्पतालभित्रै बस्ने व्यवस्था मिलाएका छौँ ।’
यो अवस्थामा स्वास्थ्यकर्मीको मनोबल घटाउने काम नगर्न उनले सबैलाई आग्रह गरे । स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्ने समय भएको भन्दै उनले यस्ता गलत काम नगर्न स्थानीयलाई आग्रह गरे ।
यसअघि सरकारले घरबेटिहरुलाई घरभाडामा बसेका स्वास्थ्यकर्मीलाई डेराबाट ननिकाल्न भनेको र त्यसो गर्नेलाई कारबाही गर्न भनिसकेको छ ।
रासस