कोरोना विरुद्धको लडाइँमा एकजुट हुन नागरिकलाई राष्ट्रपतिको आग्रह

काठमाडौं, २२ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले नोवेल कोरोना भाइरस अर्थात कोभिड १९ विरुद्धको लडाइँमा सरकारले लिएका कदममा साथ दिन सबै नागरिकसँग आग्रह गरेकी छिन् ।
शुक्रवार साँझ देशवासीका नाममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले कोभिड १९ का कारण सिंगो धर्ती युद्ध मैदान जस्तै भएको भन्दै उनले यो लडाइँमा मानवजाति विजयी हुने विश्वास व्यक्त गरिन् । यो समयमा सरकारले लिएका नीति र चालेका कदम प्रभावकारी भएकाले नै संक्रमण फैलन नपाएको उनको भनाइ छ ।
महामारीका बेलामा सबैभन्दा जोखिमयुक्त अग्रमोर्चामा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीलगायतको उनले प्रशंसा गरिन् ।
कोरोनाबाट संक्रमित भइ उपचारार्थ सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्दै महामारीविरुद्धको लडाइँमा सक्दो योगदान गर्न सम्पूर्ण राजनीतिक दल, उद्योगपति, व्यापारी, विज्ञ, सञ्चारकर्मी, स्थानीय समुदाय एवं स्वयंसेवी संस्थालाई राष्ट्रपति भण्डारीले आह्वान गरेकि छन् ।