भरतपुर अस्पतालमा मृत्यु भएकी युवती ४ महिनाकी सुत्केरी, कोरोना भाइरस भेटिएन

चितवन, २१ चैत । भरतपुर अस्पतालमा शुक्रवार बिहान ज्यान गुमाएकी सिन्धुलीकी युवती उषकुमारी राई ४ महिनाको सुत्केरी रहेको पाइएको छ ।
उनलाई रगतको कमि देखिएको र सिन्धुलीको स्थानीय डाक्टरले शरीरमा रगतको मात्रा कम भएकाले रगत चढाउन सल्लाह दिएको मृतकका बुबा गोपाल कुमार राईले बताए । केही दिनदेखि राम्रोसँग खाना पनि नखाएकी उनमा ज्वरो र एक्कासि सास फेर्न समस्या आएको मृतकका श्रीमान् शुकराम राईले बताए । ४ महिना अघि उनको गाउँमै सामान्य रुपमा सुत्केरी भएकी थिइन् ।
उनको घरमा ४ महिनाको छोरा छन् । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । बच्चालाई भैँसी दूध र पाउडर दूधको भरमा राखिएको भन्दै उनीहरु भावुक बने ।
उनको मत्यु भएसँगै शवलाई आइसियुकै आइसोलेसनमा राखिएको छ । उनको कोरोना परीक्षणका लागि नमूना हटौडा लगिएकोमा त्यहाँ कोरोना नेगेटिभ देखिएको छ । यद्यपी उक्त नमूना एकपटक राजधानी पनि पठाएर पुष्टि गर्नेभन्दै स्वाब राजधानी पठाइएको अस्पतालले जनाएको छ ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।