खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका ५६ जनाको नमूना जाँच गरिँदै

काठमाडौं, २१ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरामा कोरोना पोजेटिभ भेटिएको विषयमा खण्डन गरेको छ ।
मन्त्रालयको नियमित ब्रिफिंगको क्रममा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले पोखरामा कोरोना देखियो भन्ने विषयमा कुनै सत्यता नभएको प्रष्ट पारे ।
उनले भने, मेसिन र रिएजेन्ट गर्दा शंकास्पद देखिएपछि त्यसलाई अन्तिम नतिजा मान्ने हुँदा त्यसमा समय लाग्ने र दुई पटकसम्म परीक्षण गर्नुपर्ने हुन्छ । त्यसकारण पोखरामा हालसम्म गरिएको नतिजा नेगेटिभ नै हो ।
उनले यो रिएजेन्ट सँधैभरि गर्नुपर्ने बाध्यता केहि समयका लागि मात्रै भएकाले त्यसमा शंका नगर्नपनि आग्रह गरे ।्
यस्तै नेपालमा हालसम्म १२ सय ७७ जनाको कोरोनाको परीक्षण गरिएकोमा ६ जनामा मात्रै पुष्टि भएको जसमा एक जना स्वस्थ भएर घर फर्कि सकेको उनले जानकारी गराए ।
७ प्रदेशमा बुटवल बाहेक सबैमा नमूना परीक्षणको काम सुरु भएको भन्दै उनले बुटवलमा मेसिन जडानको काम भइरहेको र भोलीसम्म नमूना परीक्षण सुरु हुने बताए ।
हाल नेपालमा १ सय २० जना आइसोलनमा रहेको जानकारी दिँदै उनले कन्ट्र्याक्ट ट्रेसिंगको काम पनि भइरहेको बताए ।
डा.देवकोटाले सरकारले गठन गरेको कल सेन्टरमा हालसम्म ५६ सय २६ जनाले आफ्नो नाम र नम्बर सहित आफूमा देखिएको लक्षणका आधारमा दर्ता गराएका जानकारी दिए ।
जसमा १ सय ७ जना रातो जोनमा रहेको उनीहरुको कोरोना परीक्षण गरिने पनि बताए । रातो जोनमा भएकाहरुको विषयमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काम गर्नेछ ।
भक्तपुरस्थित खरिपाटीमा रहेको क्वारेन्टाइनमा रहेका सबै ५६ जनाको नमूना संकलन भएको बताए ।
कैलाली र कञ्चनपुरमा क्वारेन्टाइनमा रहेका ९२ जनाको नमूना संकलन गरिएको र नतिजा आउन बाँकी रहेको जानकारी दिए ।