धनगढीमा आईसियुमा उपचाररत भारतीय नागरिकको मृत्यु, कोरोना परीक्षण हुने

धनगढी, २१ चैत । धनगढीस्थित माया मेट्रो अस्पतालको सघन उपचार कक्ष (आईसियु) मा उपचार गराईरहेका २४ वर्षीय भारतीय युवकको शुक्रबार बिहान मृत्यु भएको छ । कञ्चनपुरकोे झलारीमा रहेको आरसिटी एग्रो मेसिनरी कम्पनीमा काम गर्दै आएका ती भारतीय नागरिकको उपचारका क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको हो।
अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले बिहीबार आईसियुमा राखिएका उनको शुक्रबार बिहान मृत्यु भएको बताए। उनलाई कम्पनीका सञ्चालक चुडामणि जोशीले नै बीहिबार राती माया मेट्रो अस्पताल पु¥याएका थिए। अस्पतालका अनुसार ती युवकमा मधुमेहको समस्या थियो भने निमोनियाको समेत आशंका गरिएको थियो। आरसिटी एग्रो मेसिनरी कम्पनीका सञ्चालक जोशीले उनी बिरामी परेपछि बुधबार झलारीको एक क्लिनिकमा समान्य परीक्षणपछि सेती अस्पताल ल्याईएको बताए। एक दिनसम्म सेती अस्पतालमै भर्ना गराएका उनको अवस्था गम्भीर भएपछि चिकित्सकहरुले आईसियुमा राख्नुपर्ने सुझाएका थिए।
तर सेती अस्पतालमा आईसियु खाली नरहेकाले अन्यत्र लैजान भनेपछि जोशीले नै बिरामीलाई माया मेट्रो अस्पताल पुगाएका थिए। यसैबीच मृतकको थ्रोट स्वाब संकलन गरी परीक्षण गरिने माया मेट्रो अस्पतालले जनाएको छ। अस्पतालका अनुसार कोरोनाको लक्षण नदेखिए पनि भारत शव लैजादा अनिवार्य रुपमा कोरोना परीक्षण गर्नुपर्ने भएकाले परीक्षण गर्न लागिएको हो। उनको स्वाब संकलनका लागि सेती अस्पतालबाट स्वास्थ्यकर्मी पुगिसकेको अस्पतालले जनाएको छ।