कोरोना महामारी नियन्त्रणका लागि नीति बनाउने जिम्मा विज्ञलाई

जनकपुर, २१ चैत । प्रदेश नम्बर २ सरकारले कोरोना महामारी नियन्त्रणका लागि आवश्यक नीति बनाउने जिम्मा विज्ञहरुलाई दिएको छ ।
मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको कोरोना महामारी नियन्त्रण निर्देशक समितिले महामारी नियन्त्रणका लागि आवश्यक नीति निर्माण गर्ने जिम्मा सम्बन्धीत विज्ञहरुलाई दिएको हो ।
निर्देशक समितिले हिजो मात्र गठन गरेको स्वास्थ्य सल्लाहकार समितिसँगको बैठकमा मुख्यमन्त्री राउतले महामारी नियन्त्रणको लागि सरकारले गर्नु पर्ने कार्यहरुको तथ्यगत सूचि सहितको नीति निर्माण गर्ने जिम्मेवारी दिएको छ ।
उनले सल्लाहकार समितिलाई सम्बन्धीत विज्ञहरुसँगको सल्लाहमा नीति बनाएर प्रदेश सरकारलाई यथाशिघ्र उपलब्ध गराउन आग्रह गरे ।
बैठकमा मुख्यमन्त्रीको नेतृत्वमा रहेको निर्देशक समिति, प्रमुख सचिवको नेतृत्वमा रहेको कार्यकारी समिति र स्वास्थ्य सल्लाहकार समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
सल्लाहकार समितिमा डा. राम केवल साह, डा. सुरेन्द्र यादव, डा. प्रविण मिश्र, डा.काशिकान्त झा, डा. विजय कुमार सिंह, डा. गरिब दास ठाकृुर, डा. जेके लाल रहेका छन् ।
सल्लाहकार समितिले आजैबाट कार्य प्रारम्भ गरेर यथाशिघ्र आफ्ना सुझावहरु सरकारलाई बुझाउने डा. राम केवल साहले बताए ।