स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अख्तियारले थाल्यो छानवीन



Download our app to get more features

काठमाडौं, २१ चैत । स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानवीन सुरु गरेको छ । 

आयोगले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता छानवीनका क्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठसँग सोधपुछ गरेको छ । 

बिहीवारदेखि उजुरीमाथि छानवीन थालेको अख्तियारले दिउँसो श्रेष्ठसँग अनौपचारिक रुपमा बयान लिएको थियो । अनुसन्धानको चरणमा रहेको विषय जानकारीमा नहुने भन्दै केही प्रतिक्रिया दिन नमिल्ने अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले बताए । 

यसैबीच ओम्नी कम्पनीलाई दिइएको ठेक्का सम्झौतामा भ्रष्टाचार गरेको भन्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उपप्रधान तथा रक्षा मन्त्री पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव कोइराला र स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ अनि ओम्नी ग्रुपपका सञ्चालकविरूद्ध आफूले अख्तियारमा उजुरी दिएको बताए । 

संकटका बेला स्वास्थ्य सामग्री ल्याउँदा कमिसन खाने र मुलुकलाई हानी पु¥याउने गरी ठेक्का सम्झौता गरेको पाइएकाले उनीहरूमाथि अनुसन्धान गरी मुद्दा चलाउन माग गरेको त्रिपाठीले बताए । दुई दिनअघि मात्र विवेकशील नेपाली दलबाट वागमति प्रदेश सभा सदस्य रमेश पौडेलले यही ठेक्का सम्झौतामा स्वास्थ्यमन्त्री ढकालविरूद्ध अख्तियारमा अनलाईन मार्फत उजुरी दिएका थिए । 

Last modified on 2020-04-03 08:54:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts