छैटौं संक्रमित महिलालाई अस्पताल ल्याइयो, स्वास्थ्य अवस्था सामान्य

काठमाडौं, २१ चैत । छैटौँ कोभिड १९ सङ्क्रमित ६५ वर्षीया बागलुङका वृद्धाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् ।
अवस्था सामान्य भएपनि उनलाई निगरानीमा राखेर उपचार गर्नका लागि धौलागिरि अस्पतालमा ल्याइएको अस्पतालका सुपरिटेन्डेन्ट डा शैलेन्द्र विक पोखरेलले बताए ।
गाउँमा अरु नागरिकमा त्रास नफैलियोस् भन्नका लागि पनि उनलाई उपचारका लागि अस्पतालमा ल्याइएको हो ।
बिहीवार ती वृद्धा महिलामा नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ भएको पुष्टि भएको थियो । उनमा पहिलेदेखि नै दमको समस्या भएकाले चिकित्सकले उनलाई विशेष निगरानीमा राखेर उपचार दिन थालेका छन् ।
योसँगै नेपालमा कोभिड–१९ बाट संक्रमित हुनेको सङ्ख्या ६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना पुष्टि भएका छैटौँ वृद्ध महिला गत चैत ४ मा कतारबाट नेपाल फर्किएका थिइन् ।
नेपालको दोस्रो कोरोना सङ्क्रमित काठमाडौँकी एक १९ वर्षकी युवती आए कै कतार एयरवेजको क्युआर ६ सय ५२ मै छैटौँ संक्रमित महिला पनि आएको पाइएको हो ।