धनगढीमा स्थापना गरिएको प्रयोगशालाबाट कोरोना परीक्षण सुरु



Download our app to get more features

धनगढी, २० चैत । संघीय सरकारले धनगढीको सेती प्रादेशिक अस्पतालमा स्थापना गरिएको प्रयोगशालाबाट कोरोना परीक्षण सुरु भएको छ ।  

बुधबार साँझ प्रयोगशालाका उपकरण जडान गरेको विज्ञ टोलीले बाँकी रहेका काम सकेर बिहीबारदेखि नै नमुना परीक्षण कार्य सुरु गरेको हो । 

स्वास्थ्य मन्त्रालयबाट सुदूरपश्चिम प्रदेशका लागि आएका मोलिकुलर माईक्रोबायोलोजिष्ट सुनिलप्रसाद लेखक सहितको टोलीले सेती अस्पतालमा स्थापना गरेको प्रयोगशालामा कोरोनाका शंकास्पद व्यक्तिहरुको थ्रोट स्बावको नमुना परीक्षण गर्न थालिएको प्रादेशिक अस्पतालले जनाएको छ । 

संघीय सरकारले चीनबाट खरिद गरी ल्याएको कोरोना परीक्षण प्रयोगशालाका उपकरण नेपाली सेनाको हेलीकोप्टर मार्फत मंगलबार धनगढी ल्याईएको थियो । बुधबार बिहानैदेखि स्वास्थ्य मन्त्रालयबाट खटिएको विज्ञ टोलीले उपकरण जडानको काम गरेकोमा काम सम्पन्न भई परीक्षण सुरु भएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् ।  

यसअघि सुदूरपश्चिमबाट कोरोनाका सम्भावित तथा शंकास्पद विरामीको नमूना संकलन गरी परिक्षणका लागि काठमाडौँ पठाइदै आएको थियो । जसले गर्दा परीक्षणको रिपोर्ट आउन ढिलाई हुने गरेको थियो । अब जडान गरिएको मेसिनबाट एक घण्टा १० मिनेटमै कोरोना जाँचको रिर्पोट आउने बताइएको छ ।

Last modified on 2020-04-02 20:10:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts