कतारबाट नेपाल आएका अर्का एक जनामा कोरोना

काठमाडौं, २० चैत । नेपालमा छैटौं व्यक्तिमा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्यापनि ६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगको क्रममा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले कतारको दोहा हुँदै नेपाल आएका एक जनामा कोरोना पुष्टि भएको बताए ।
उनको बारेमा थप विवरण भने प्राप्त नभएको पनि उनले जानकारी गराए ।यस्तै हाल नेपालभरि एक सय पाँच जना आइसोलसनमा रहेको भन्दै उनले ९९ जना उपत्यका बाहिर र १६ जना उपत्यकाका विभिन्न अस्पतालको आइसोलेसनमा रहेको जानकारी गराए ।
छाउनीमा पनि नमूना परीक्षण सुरु भएको जानकारी दिँदै डा. देवकोटाले प्रदेशहरुमा पनि आजबाट परीक्षण सुरु भएको बताए । प्रदेश २ मा मेसिन जडान सुरु भइसकेको उनको भनाइ छ । डा. देवकोटाले सरकारले बनाएको मोबाइल एपमा हालसम्म ४१ सय ९८ जनाले नाम र सम्पर्क नम्बरसहित रजिस्टर गराएको र त्यसमध्ये १७ जनाको नमूना परीक्षण गरिने तयारी भइरहेको जानकारी दिए । यस्तै विश्व स्वास्थ्य संगठनमा आवद्ध ११ वटा देशका स्वास्थ्यमन्त्रीसँग कुराकानी भएको जानकारी दिँदै उनले कोभिड १९ को विषयमा के कसरी काम हुँदैछ भन्ने विषयमा छलफल भएको बताए ।
यस्तै नियमित रुपमा दिइने सेवालाई अस्पतालले दिने र कोभिड १९ का लागि तोेकिएका अस्पतालले आफ्नो सेवा दिनेछन् भने कोरोना बाहेकका अस्पतालले आफ्नो नियमित आकस्मिक सेवा दिने भनिएको छ । विश्व स्वास्थ्य संगठनले भेन्टिलेटर निकै आवश्यक भएकाले त्यसलाई अस्पताललाई व्यवस्थापन गर्ने विषयमा कुरा भयो । भुटानमा २१ दिन क्वारेन्टाइनमा बस्नुपर्छ ।