कोरोना विशेष अस्पतालमा उपचाररत युवकको मृत्यु बारे छानबिन गर्न माग 



Download our app to get more features

रुपन्देही, २० चैत । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा युवकको मृत्यु भएको घटना बारे छानबिन गर्न विभिन्न राजनीतिक दलहरुले माग गरेका छन् ।
नेपाली कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३४ वर्षका बाबुराम थापाको कोरोना अस्पतालमा भएको मृत्यु बारे स्वतन्त्र र सर्वपक्षीय समितिमार्फत छानबिन गर्न र पीडित परिवारलाई उचित राहत दिन माग गरेका हुन् ।

कांग्रेसका नेता तथा प्रदेश सभा सांसद फखरुद्दिन खान र रमा अर्यालले थापाको उपचारमा अस्पतालको गम्भीर लापरवाही गरेको आरोप लगाएका छन् । यस लापरवाही बारे सर्वपक्षीय स्वतन्त्र छानबिन समिति गठन गरी सत्य तथ्य बाहिर ल्याउन उनीहरुको माग छ। दोषीलाई कारवाही गर्न र पीडित परिवारलाई उचित राहत प्याकेजको व्यवस्था गरी मृतकको शब उठाउने वातावरण बनाउन उनीहरुले मुख्यमन्त्री शंकर पोखरेलको ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले बुझाएको ध्यानाकर्षण पत्रमा कोरोना विशेष नामाकरण गरिए पनि अस्पतालमा भेन्टिलेटर,आईसीयू जस्ता आधारभुत आवश्यक उपकरण जडान नै नगरी अस्पतालमा बिरामी भर्ना गर्नु, १३ चैतमा भर्ना भएका बिरामीको चार दिनसम्म स्वाब परीक्षण गर्न नपठाउनु अस्पताल र चिकित्सकको गम्भीर लापरवाही हो भनेका छन् । उनीहरुले मृतक परिवारको आर्थिक अवस्था अत्यन्त नाजुक रहेको उल्लेख गर्दै दुई जना नाबालक छोराको पालनपोषण र शिक्षाको प्रबन्धका लागि प्रदेश सरकारले राहत दिनुपर्ने माग गरेका छन् ।

डाक्टर र स्वास्थ्यकर्मीका लागि ५० लाखको बीमा माग

समाजवादी पार्टीले कोभिड–१९ को संभावित जोखिमको अवस्थामा उपचारमा खटिने डाक्टर र स्वास्थ्यकर्मीका लागि ५० लाखको बीमा र तलब स्केल बराबरको भत्ता व्यवस्थासहित प्याकेज ल्याउन प्रदेश सरकारसंग माग गरेको छ । सो पार्टीले कोरोनाको उपचारमा खटिने डाक्टर र स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन र उनीहरुलाई प्रोत्साहन दिन पनि सबैसंग आग्रह गरेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts