मुस्लिम धार्मिक सभाबाट नेपाल फर्केका ८ नेपाली सप्तरीको क्वारेन्टाइनमा
२० नेपालीको दिल्लीमै कोरोना परीक्षण हुँदै

काठमाडौं, २० चैत । भारतको राजधानी नयाँ दिल्लीमा आयोजित मुस्लिम धार्मिक सभा (जमात) मा सहभागी हुन हिँडेका तर त्यहाँसम्म नपुगी फर्किएका आठ जनालाई सप्तरीको क्वारेन्टाइनमा राखिएको छ ।
क्वारेन्टाइनमा पाँच जना सुनसरीका, दुई जना सप्तरीका र एक जना सिराहाका रहेका छन् । दिल्ली जमातमा जान भन्दै पटनासम्म पुगेर फर्केका उनीहरुलाई सप्तरीको बोदे बर्साइन नगरपालिका–५ स्थित चन्द्रा माविको क्वारेन्टाइनमा राखिएको बोदे बर्साइन नगरपालिकाका प्रमुख आतेशकुमार सिंहले बताए । उनीहरुलाई गत चैत १६ गते क्वारेन्टाइन ल्याइएको पनि उनले जानकारी गराए ।
पटना पुगेपछि भारतमा रेल नचल्दा आफूहरु दिल्ली जान नसकेको क्वारेन्टाइनमा रहेकाले बताएका छन् । सप्तरीको बेल्ही नाकाबाट नेपाल फर्किने क्रममा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई क्वारेन्टाइनसम्म पु¥याएको हो ।
भारतको राजधानी दिल्लीको निजामुद्दीनस्थित तबलीगी जमातको मरकज कार्यक्रममा सहभागि नेपालीको बारेमा मुस्लिम आयोगले पनि चासो देखाएको छ । आयोगका अध्यक्ष समिम अन्सारीले मरकजबाट नेपाल फर्केकाहरुलाई क्वारेन्टाइनमा अनिवार्य बस्न भनिएको बताए ।
मरकज कार्यक्रममा सहभागि अधिकांश भारतीय र पाकिस्तानी नागरिकमा कोरोना भाइरसको पुष्टि भएपछि कार्यक्रममा सहभागि १९ नेपालीको विषयमा आयोगले चासो राख्दै उनीहरुको खोजी सुरु गरेको छ ।
यस्तै भारतको राजधानी दिल्लीमा आयोजित एउटा मुस्लिम धार्मिकसभामा सहभागी हुन पुगेका २० जना नेपालीको कोरोनाभाइरस परीक्षणका लागि नमुना लिइएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
दिल्लीस्थित विभिन्न क्वारन्टाइनस्थलमा राखिएका उनीहरूको थुकको नमुना सङ्कलन गरेर परीक्षणका लागि पठाइएको जानकारी भारतीय अधिकारीलाई उदृत गर्दै नेपाली दूतावासका अधिकारीले दिएका हुन् ।
“उक्त धार्मिकसभामा नेपालीहरू पनि रहेको र उनीहरूलाई पनि क्वारन्टाइनमा राखिएको भन्ने थाहा पाएपछि हामी भारतीय पक्षसँग निरन्तर सम्पर्कमा छौँ,” दूतावासका प्रवक्ता हरि ओडारीले बताए ।
उनका अनुसार भारतीय अधिकारीहरूले दिएको पछिल्लो जानकारी अनुसार सबै नेपालीहरूको नमुना “परीक्षणका लागि पठाइसकिएको तर नतिजा आउन बाँकी रहेको” छ ।
दिल्लीमै क्वारन्टाइनमा
ओडारीका अनुसार दूतावासले परराष्ट्र मन्त्रालयलाई उक्त धार्मिकसभामा सहभागी नेपालीबारे प्राप्त सबै जानकारी पठाइसकेको छ ।
त्यसका आधारमा उनीहरूसँगै गएका कोही व्यक्ति नेपाल फर्किसकेको भए उनीहरूको खोजी गर्न मद्दत पुग्ने दूतावासले जनाएको छ ।
ओडारीका अनुसार उक्त धार्मिकसभामा सहभागी हुन नेपालका विभिन्न जिल्लाबाट मानिसहरू गएको देखिएको छ ।
उनले भने, “यहाँ रहेका २० जना विभिन्न जिल्लाका हुनुहुन्छ । अहिले उहाँहरूलाई दिल्लीकै विभिन्न क्वारन्टाइनस्थलमा राखिएको छ ।”