कोभिड–१९ को संक्रमण रोकथाम तथा उपचारका लागि अर्थ मन्त्रालयले निकासा गर्यो डेढ अर्ब

काठमाडौं, २० चैत । कोभिड–१९ को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि अर्थ मन्त्रालयले डेढ अर्ब रुपैयाँ निकासा गरेको छ ।
मन्त्रालयले स्वास्थ्य मन्त्रालयकै बजेट ८५ करोड रुपैयाँ बजेट रकमान्तर स्वीकृत गर्दै स्वास्थ्य मन्त्रालयकै अन्य कार्यक्रमबाट रकमान्तर गरी खर्च गर्न बजेट उपलब्ध गराइएको मन्त्रालयका प्रवक्ता उत्तर कुमार खत्रीले बताए ।
‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा पनि ५० करोड रुपैयाँ बजेट दिइएको भन्दै उनले चीनबाट नेपाली विद्यार्थीहरुलाई उद्दार गरेर क्वारेन्टाइनमा राख्दा १३ करोड रुपैयाँ खर्च भएको बताए ।
यस्तै, वार्षिक बजेटबाट रकमान्तर गर्ने, स्थानीय तह प्रदेश र संघको कोरोना उपचार कोषमा जम्मा हुने रकम, विपद् व्यवस्थापन र प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा भएको रकम पनि खर्च गर्ने निर्णय पनि भइसकेको उनले जानकारी दिए ।