प्रदेश २ का मुख्यमन्त्री राउत र डोल्पाका सिडिओ सुनारले चिकित्सकलाई दुव्यर्वहार गरेकोमा आपत्ति 



Download our app to get more features

काठमाडौं, १९ चैत । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र डोल्पाका प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले कोरोना भाइरस (कोभिड–१९) को उपचारका लागि खटिरहेका स्वास्थ्यकर्मीमाथि गरेको दुव्यर्वहारप्रति चिकित्सक संघहरुले आपत्ति जनाएको छ । प्रदेश २ सरकारले व्यक्तिगत सुरक्षा उपकरण बिनै काम गरिरहेको भए पनि मुख्यमन्त्री राउतले लाइसेन्स खारेज गर्ने र कारबाही गर्न निर्देशन दिनुले चिकित्सकको मनोबल कमजोर गराउने अभिव्यक्ति दिएपछि चिकित्सक संघले आपत्ति जनाएको हो ।

संघका महासचिव डा. बद्री रिजालले महामारीको बेला डाक्टरहरु व्यक्तिगत सुरक्षा उपकरणबिनै काम गरिरहेको बेला प्रदेश सरकारले समस्या समाधान गर्नुको साटो उल्टै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई कारबाही गर्न निर्देशन दिनु गलत भएको टिप्पणी गरेका छन् । हाम्रो डाक्टर न्यूजसँग कुराकानी गर्दै महासचिव रिजालले खुला बोर्डरका कारण सबैभन्दा जोखिममा रहेको प्रदेश २ मा अहिलेसम्म प्रदेश सरकारले स्वास्थ्यकर्मीका लागि शुरक्षाको कुनै व्यवस्था नगरेको र चिकित्सकहरुलाई ज्यान जोखिममा राखेर काम गर्नुपर्ने अवस्थालाई बेवास्ता गरेकोले मुख्ममन्त्रीको दिएको निर्देशन खारेज गर्न माग गरेको बताए ।

जिल्ला अस्पताल डोल्पाका स्वास्थ्यकर्मीमाथि भएको दुव्यर्वहारप्रति नेपाल चिकित्सक संघ (एनएमए) र सरकारी चिकित्सक संघ (गोदान) ले छानबिन गर्न माग गरेको छ । बिरामीको उपचारमा खटिएका डोल्पा जिल्ला अस्पतालका चिकित्सकलाई बिना गल्ती जिल्ला प्रशासन कार्यालयले दुव्यर्वहार गरेको भन्दै गोदान र एनएमएले विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेको हो ।

विश्वव्यापी महामारी बनेको कोभिड १९ को तयारी स्वरुप ३० शय्याको आइसोलसन कक्ष निर्माणसम्बन्धी बैठकमा सहभागी मेडिकल अधिकृतहरु डा. रमेश रोका र डा. मछिन्द्र बडुवाललाई बैठकमा किन आएको भन्दै प्रमुख जिल्ला अधिकारीबाटै अपमान गरेको भन्दै दुवै संघले चिकित्सकको मनोबल गिर्ने गरि काम भएकोप्रति ध्यानाकर्षण जनाएको छ ।

अस्पतालले बिरामीको सेवामा दिनरात खटिने चिकित्सकमाथि भएको व्यवहारले काम गर्न असहज भएकाले यस विषयमा गम्भीरताका साथ छानबिन गर्न माग गरिएको हो ।
यस्तै एनमएएले स्वास्थ्यकर्मीले प्रयोग गर्ने एन९५ मास्क दुरुपयोग भएको भन्दै त्यसमा सरोकारवालाले अनुगमन गर्न पनि माग गरेको छ ।

Last modified on 2020-04-01 15:27:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts