कोभिड १९ संक्रमित चारै जनाको स्वास्थ्य सामान्य, दोस्रो पटक स्वाब परीक्षण आज हुने

काठमाडौं, १९ चैत । नेपालमा कोरोना भाइरस (कोभिड– १९) को संक्रमण देखिएका चारै जनाको स्वास्थ्य अवस्था सामान्य रहेकोे बताइएको छ ।
काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा उपचारत दुईजना, कैलालीको धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पताल र धौलागिरि अस्पताल बाग्लुङमा उपचारत किशोरी गरि चारै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
टेकुमा उपचार गराइरहेका दुवै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले बताएका छन् ।
टेकुमा अस्पतालको आइसोलेसनमा फ्रान्सबाट गत ४ चैतमा आएकी १९ वर्षीया किशोरी र गत ६ चैतमा दुवईबाट आएका युवकको उपचार भइरहेको छ ।
दुवैजनाको दोस्रो परीक्षणका लागि आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब पठाइदैछ ।
यस्तै चैत ४ गते नै बेल्जियमबाट नेपाल आएकी बाग्लुडकी १९ वर्षीया किशोरीको पनि स्वास्थ्य सामान्य रहेको बताइएको छ ।
धौलागिरि अस्पताल बाग्लुङका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बिक पोखरेलले हाम्रो डाक्टर न्यूजलाई दिएको जानकारी अनुसार उनको मानसिक र शारीरिक दुवै अवस्था सामान्य बनेको छ ।
उनले सामान्य रुघाखोकी लागेपनि ज्वरो भने नरहेको भन्दै दोस्रो पटक स्वाब परीक्षणका लागि मंगलबार नमूना पठाइएको बताए ।
यस्तै ती किशोरीसँगै नजिक रहेका र परिवारका गरि ९ जनाको पनि स्वाब परीक्षण गर्नका लागि नमूना पठाइएको उनले जानकारी दिए ।
सम्पर्कमा आएका ९ जनाको स्वास्थ्य सामान्य रहेको भन्दै डा.पोखरेलले उनीहरुलाई स्वास्थ्कर्मीको निगरानीमा होम क्वारेन्टाइनमा राखिएको पनि बताए ।
कैलालीको धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार गराइरहेका दुबईबाट ६ चैतमा आएका ३४ वर्षका संक्रमित युवाको अवस्था पनि सामान्य रहेको अस्पताले जनाएको छ ।
तर, उहाँहरु चारजनासँग नेपाल आएका ३ सय यात्रुलाई भने अझै सम्पर्कमा ल्याउन सकिएको सकिएको छैन ।