पर्वतमा आईसोलेसनमा रहेका २ जनाको रिपोर्ट नेगेटिभ

पर्वत, १९ चैत । पर्वत कोरोना अस्पतालको आइसोलेसनमा रहेका दुई युवाको रिर्पोट पनि नेगेटिभ आएको छ ।
कोरोना भाईरसको संक्रमण भएको पुष्टि भएकी बागलुङ्गकी युवती संगै यति एयरको बिमानमा यात्रा गरेका पर्वतको धाइरिङ्गका एक युवा र युवती संग भेटघाट गरेका नाङ्गलीबाङ्गका अर्का युवकको पनि रिर्पोट नेगेटिभ आएको हो ।
दुबै युवाको थ्रोट स्वाब सोमबार परिक्षणका लागि काठमाण्डौ पठाइएकोमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दुबैमा कोरोनाको संक्रमण नभएको पुष्टि गरेको पर्वत अस्पतालका डा. शिशिर देवकोटाले बताए । उनीहरु आइसोलेसनबाट डिस्चार्ज भएपनि एक हप्ता सम्म घरमै सेल्फ क्वारेन्टाईनमा बस्नुपर्ने डा. देवकोटाको भनाइ छ ।
पर्वतको जलजला गाउँपालिका वडा नं ७ धाइरिङ्गका ती युवा गत चैत्र ४ गते मध्यान्ह पौन १ बजेको यति एयरको ६७९ नम्बरको उडानबाट युवतीसंगै पोखरा आएका थिए भने नाङ्गलीबाङ्गका युवा संक्रमितका नातेदार हुन ।
संक्रमणको आशंका युवाहरुको परिक्षण नेगेटिभ आएपछि उनीहरुको सम्पर्कमा रहेको आधारमा क्वारेन्टाईनमा रहेकाहरुको पनि थ्रोड स्वाब परिक्षण गर्न नपर्ने भएकाले क्वारेन्टाईनमा रहेका पनि होम क्वारेण्टाईनमा बस्ने गरि फिर्ता भएका छन् । पर्वतमा अहिले सम्म ४ जना आइसोलेसनमा रहेकाको रिपोर्ट नेगेटिभ आएको छ ।