देशलाई अप्ठ्यारो पर्दा बन्द भएका यी हुन् धनगढीका ११ निजी अस्पताल

धनगढी, १९ चैत । सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पताललाई कोरोना विशेष अस्पताल तोकिसकेको छ । प्रदेश मन्त्रीपरिषद्को बैठकले कोरोना भाइरस परीक्षण तथा चेकजाँचका लागि सेती अस्पताललाई ‘डेडिकेटेट’ (विशेष) अस्पताल तोकेपछि धनगढीकाका अधिकांस निजी अस्पताल भने बन्द भएका हुन् । जसका कारण सेती प्रादेशिक अस्पतालमा अहिले बिरामीको चाप छ । यसैबीच हामी धनगढीका ११ वटा अस्पतालमा मंगलवार पुगेका थियौं । कुनै अस्पतालमा ताल्चा झुण्डिाइएको छ भने कुनैमा अस्पतालको फार्मेसी मात्रै सञ्चालनमा छन् ।
धनगढी नेत्रालय
मंगलवार विहान ११ बजे हामी धनगढी उप–महानगरपालिका वडा नम्वर ३ स्थित धनगढी नेत्रालय पुग्यौं । नेत्रालय पूर्ण रुपमा बन्द थियो । अस्पतालले आकस्मिक सेवा समेत सञ्चालन गरेको छैन् ।
सीपी अस्पताल
धनगढी नेत्रालयपछि धनगढी उप–महानगरपालिका वडा नम्वर ४ मा रहेको सीपी अस्पतालमा पुग्यौं । अस्पतालले गेटभित्र छिर्नु अघि नै हातमा लगाउने सेनिटाइजर राखिएको थियो । आकस्मिक सेवा सुचारु थियो भने ओपीडी बन्द । कोरोना संकास्पद बिरामीको उपचारका लागि अस्पतालमा कुनै व्यवस्थापन गरिएको छैन् ।
माया मेट्रो अस्पताल
धनगढी उप–महानगरपालिका वडा नम्वर ३ मै रहेको माया मेट्रो अस्पतालले सडक छेउमै हात धुने व्यवस्था गरेको छ । इमर्जेन्सी कक्ष अगाडी फिभर क्लिनिक चलाइएको छ । जहाँ एक स्वास्थ्यकर्मी साधारण पिपिई लगाएर खटिएकी छिन् । ति स्वाथ्यकर्मीले भने, ‘अस्पताल आउने अरु बिरामी तथा कर्मचारीलाई पनि ज्वरो जाँच गरेर भित्र पठाउने गरिएको छ ।’ अस्पतालले कोरोना संक्रमणको आशंकामा पुग्नेहरुलाई आइसोलेसनमा राख्ने व्यवस्था भने गरेको छैन् । अस्पतालले आकस्मिक सेवा मात्रै सञ्चालन गरेको छ ।
नवजीवन अस्पताल
हामी धनगढी उप–महानगरपालिका वडा नम्वर ४ मा रहेको नवजीवन अस्पताल पुग्यौ । यस अस्पतालले पनि मुख्य ढोका अगाडि हात धुने व्यवस्था गरेको छ । ईमर्जेन्सी वार्डको अगाडि भेटिएका अस्पतालका दुई जना कर्मचारीले भने, ‘आकस्मिक बाहेका सेवा बन्द गरेका छौ । कोरोना संकास्पद विरामीको उपचारका लागि कुनै व्यवस्था छैन् ।’
निसर्ग अस्पताल
धनगढी उप–महानगरपालिका वडा नम्वर ५ को निसर्ग अस्पतालमा पुग्यौं । अस्पताल अगाडीको दुई छेउमा हात धुने व्यवस्था छ । अस्पतालको इमर्जेन्सी कक्ष अगाडी फिभर क्लिनिक राखिएको थियो । पिपिइ लगाएर एक स्वास्थ्यकर्मी बसिरहेका थिए । उनले ट्राभल हिस्ट्री र लक्षणका आधारमा कोरोनाका आशंकित बिरामी छुट्याउने बताए । उनका अनुसार अस्पतालमै आइसोलेसनको व्यवस्था भने छैन् । अस्पतालममा आकस्मिक सेवा मात्रै सञ्चालन गरिएको छ ।
सारथी अस्पताल
धनगढी उप–महानगरपालिका वडा नम्वर १ मा रहेको सारथी अस्पतालले पनि बाहिर हात धुने व्यवस्था गरेको छ । इमर्जेन्सी कक्ष अगाडि दुई जना कर्मचारी भेटिए । उनीहरुले भने, ‘हाम्रो अस्पतालमा अहिले ओपीडि सेवा पनि सञ्चालन गरेको छ । तर १० बजेदेखि २ बजे सम्म । त्यसबाहेकको समयमा भने आकस्मिक सेवा मात्रै सञ्चालन गरिरहेका छौ । कोरोनाका संकास्पद बिरामीको उपचारका लागि भने कुनै व्यवस्था छैन् ।’
नोभा अस्पताल
मुख्य बजारमै रहेको नोभा अस्पतालले पनि अस्पताल अगाडि हात धुने व्यवस्था गरेको छ । फिभर क्लिनिक छैन् । अस्पतालमै भेटिएका एक जना स्वास्थ्यकर्मीले भने, ‘कोरोना भाईरसको लक्ष्यण देखिए सेती प्रादेशिक अस्पताल पठाउने गरेका छौ । हामीसँग व्यक्तिगत सुरक्षाका उपकरण छैनन् ।’
सिटी पोलीक्लिनिक
हामी ११ बजेर २५ मिनेटमा धनगढीको मुख्य बजार सेती प्रादेशिक अस्पतालको अगाडि रहेको सिटी पोलीक्लिनिकमा पुगेका थियौ । त्यहाँ सबै स्वास्थ्य सेवा भने बन्द थियो । यद्यपि, अस्पतालले फार्मेसी भने सञ्चालन गरिहेको छ ।
कैलाली अस्पताल
साढे ११ बजे हामी धनगढीको मुख्य बजार सेती प्रादेशिक अस्पतालको अगाडि नै रहेको कैलाली अस्पताल पुग्यौ । अस्पतालको फार्मेसी अगाडी हात धुने व्यवस्था गरिएको छ । अस्पतालले फार्मेसी बाहेक सबै स्वास्थ्य सेवा बन्द गरेको छ।
ओम आशा अस्पताल
धनगढी उप महानगरपालिका क्याम्पस चोकमा रहेको ओम आशा अस्पताललले आकस्मिक वार्डमा पनि ताल्चा लगाएको छ । यद्यपि, औषधि बिक्रीका लागि भने फार्मेसी खोलिएको छ । फार्मेसीमै भेटिएका अस्पतालका एक जना कर्मचारी भने, ‘फार्मेसी खोलेकै छौ । कोही बिरामी आए जाँच गरिहाल्छौ । अहिलेको अवस्थामा यो पनि धेरै हो ।’
नवबुद्ध अस्पताल
धनगढी उप–महानगरपालिका वडा नम्वर ८ मा रहेको नवबुद्ध अस्पतालमा पनि ताल्चा लगाईएको छ । अस्पतालले आकस्मिक सेवा पनि सञ्चालन छैन् । फार्मेसी पनि बन्द छ ।