कोरोनाको डरले नर्सलाई घरबाट निकाल्ने घरभेटी पक्राऊ
दाङ, १८ चैत । कोरोना संक्रमण फैलने भन्दै स्टाफ नर्सलाई घरबाट निकालेको आरोपमा दाङ घोराही उपमहानगरपालिका वडा नं २ का सचिव नारायण आचार्यलाई प्रहरीले पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका वडा नं. १८ नवलपुरमा रहेको आचार्यको घरमा भाडामा बस्ने र नजिकै बुद्ध इन्टरनेशनल अस्पतालमा कार्यरत सृजना खड्कालाई आचार्यले घरबाट निकालेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
मुलुकमा कोरोना भाइरसको जोखिम भएका अवस्थामा आफ्नै ज्यान बाजी थापेर काममा खटिएकी नर्सलाई घरबाट निकालेको भन्ने गुनासो आएकाले आबश्यक अनुसन्धान गर्न आचार्यलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
तुलसीपुर उपमहानगरपाकिा वडा नं १६ निवासी खड्कालाई घरबाट निकाला गरेपछि चैत १५ गतेयता होटेलमा बस्दै आएकी थिईन् । सचिबलाई नर्स नियमित हस्पिटल जाने भएकाले घरमा कोरोना संक्रमण जोखिम रहेको भन्दै घरधनी आचार्यले घरबाट निकालेको खबर बाहिरिएपछि सोमबार दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले स्वास्थ्यकर्मीहरुलाई घरबाट निस्किन दवाव दिनेलाई कार्वाही गरिने बताएका थिए ।