भीम अस्पतालमा ३५ बेडको आइसोलेशन, कोरोना उपचारमा कमी नगर्न मन्त्रीको निर्देशन

रुपन्देही, १८ चैत । प्रदेश सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमतिको उपचारको लागि प्रदेश ५ को तीन जिल्लामा ४ अस्पतालमा आइसोलेशनसहितको सेवा संचालनमा ल्याएको छ ।
प्रदेश सरकारले रुपन्देहीको भैरहवास्थित भीम अस्पताललाई कोरोना विशेष उपचार अस्पतालको रुपमा रुपान्तरण गरेको छ । यस अस्पतालमा मात्रै ३५ बेडको आइसोलेशन बनाइएको छ । भीम अस्पतालमा आईसियु ५ बेड, भेन्टिलेटरसहितको ३ वेड छन् । यसैगरी बुटवल धागो कारखानामा पनि आइसोलेशन संचालन गरिएको छ ।
प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले मंगलवार अस्पतालको निरीक्षण गरी उपचारमा कुनै पनि कमी नगर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएका छन् । उनले सरकारले स्वास्थ्यकर्मीको शुरक्षाको लागि कुनै सरकारले कुनै कसर नराखेको पनि बताए । उनले उच्च आत्मबलको साथ उपचारमा खटिन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिए ।
अहिलेसम्म प्रदेश ५ मा कोरोना संक्रमित फेला परेको छैनन् । २३ जनाको थ्रोड स्वाब परीक्षण गरिए पनि कसैमा पोजेटिभ रिपोर्ट आएको छैन । तीन जनाको रिपोर्ट आउन बाँकी रहेको लुम्विनी प्रादेशिक अस्पतालले जनाएको छ । सामाजिक विकास मन्त्रालयले कुनै पनि व्यक्तिमा कोरोनाको लक्षण देखा परेमा तुरुन्त अस्पतालमा जान सुझाव दिएको छ ।