आजबाट पोखरामै कोरोना परीक्षण

कास्की, १८ चैत । कोरोना भाइरस संक्रमणसम्बन्धी परीक्षण आजबाट पोखरामै हुने भएको छ । संघीय सरकारले मंगलबार बिहान प्राविधिक टोलीसहित पिसिआर मेसिन पोखरा ल्याएपछि परीक्षण सम्भव भएको हो ।
यसअघि गण्डकी प्रदेशका लागि संघीय सरकारले कोरोना जाँच मेसिन पठाइएको थिएन । काठमाडौंमा राखिएको मेसिन पोखरा ल्याएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले बताए । प्रदेश सकारको टोली र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकारीबीच छलफलपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकै प्रयोगशाला भवनमा कोरोना भाइरस परीक्षण गर्ने मेसिन पनि राख्ने सहमति भएको प्रदेश निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
मेसिनको साथमा आवश्यक किट, केमिकल र विज्ञको टोली पोखरा आएको छ । अब गण्डकी प्रदेशका सम्भावित कोरोना संक्रमितको परीक्षण पोखरामा नै हुने भएको छ ।
विदेशबाट गण्डकीमा आउजाउ गर्ने धेरै भएकाले पनि यहाँ मेसिन जरुरी भएको उनको भनाइ छ । यो मेसिनबाट दैनिक १५ वटासम्म परीक्षण गर्न सकिन्छ।