भक्तपुरमा विदेशबाट फर्किएकाहरुको नमूना सङ्कलन शुरु, १ सय ४६ जना निगरानीमा

भक्तपुर, १८ चैत । भक्तपुर जिल्लाका सबै नगरपालिका क्षेत्रमा विदेशबाट फर्किएकाहरुको कोरोना सङ्क्रमण भए नभएको परीक्षणका लागि नमूना सङ्कलन शुरु भएको छ ।
भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा विदेशबाट फर्किएका कूल १ सय ४६ जनाको पहिचान भएसँगै उनीहरुको नमूना सङ्कलन गर्न शुरु भएको हो ।
लगत सङ्कलन गर्ने क्रममा मध्यपुरथिमि नगरपालिकाले भने विदेशबाट फर्किएका ४१ जनाको पहिचान गरि स्वास्थ्यकर्मी सहित घरघरमा पुगेर ट्राभल हिस्ट्री लिनुका साथै उनीहरुको स्वास्थ्य परीक्षण गरेको छ । विदेशबाट फर्किएकामध्ये शङ्कास्पद पाँच जनाको स्वाव सङ्कलन गरि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाएको तर रिर्पोट आउन भने बाँकी रहेको छ ।
त्यसैगरि सूर्यविनायक नगरपालिकाले विदेशबाट फर्किएका ७१ जनाको पहिचान गरेको छ । सूर्यविनायकमा दुईसाता यता विभिन्न देशबाट फर्किएका २१ महिला र ५० पुरुष गरी कूल ७१ जनाको वडागत लगत सङ्कलन गरी घर भित्रै क्वारेन्टाइनमा राखेर स्वास्थ्य परामर्श गराइएको छ । विदेशबाट आएकालाई कम्तीमा १४ दिन घर भित्रै बस्न भनिएको र अटेर गरे नगरपालिकाको क्वारेन्टाइनमा लगेर राखिने छ । त्यसैगरि चाँगुनारायण नगरपालिकामा विदेशबाट फर्किएका १७ जनाको पहिचान गरेको र लगत सङ्कलन गर्ने कार्य जारी रहेको छ । भक्तपुर नगरपालिकाले अहिलेसम्म १७ जनाको लगत सङ्कलन गरेको र यो कार्य जारी छ ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेले विदेशबाट फर्किएकाको स्थानीय तहमार्फत लगत सङ्कलन गर्ने क्रम जारी रहेको बताउँदै उनीहरु सबैलाई होम क्वारेन्टाइनमा स्वास्थ्य एवं सुरक्षा निगरानीमा राखिएको जानकारी दिए । पहिचान भएका होम क्वारेन्टाइनमा नबसे तत्कालै पक्राऊ गरिने जानकारी दिँदै उनले स्वास्थ्यमा समस्या आएमा तत्काल स्थानीय तह वा सुरक्षाकर्मीलाई जानकारी गराउने र अस्पताल पठाउने व्यवस्था मिलाइएको बताई्न ।
विदेशबाट नेपाल फर्किएकाहरुमा कोभिड–१९ को सङ्क्रमण पुष्टि हुन थालेपछि भक्तपुरका चारैवटै स्थानीय तह र सुरक्षा निकायले लगत सङ्कलन एवं निगरानी बढाएको हो ।
११ जनाको नेगेटिभ यसैबीच विदेशबाट आएकाहरुको भक्तपुुर अस्पतालमार्फत धमाधम स्वाब परीक्षण गर्न शुरु भएको छ । स्थानीय तहको निर्देशनपछि भक्तपुर अस्पतालमा विदेशबाट फर्किएकाको स्वाब सङ्कलन शुरु भएको छ ।
भक्तपुर अस्पतालकी सुपरिटेण्डन डा. सुमित्रा गौतमले सोमबारसम्म १९ जनाको स्वाब सङ्कलन गरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको जानकारी दिईन । त्यसमध्येमा आइसोलेसनमा भर्ना भएका चार जनासहित ११ जनाको रिपोर्ट नेगेटिभ आएको र आठको रिपोर्ट आउन बाँकी रहेको छ ।