दाङमा २४ जना आइसोलेसनमा, ८ जना उपचारपछि घर फर्किए

दाङ, १८ चैत । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरसको आशंकामा आइसोलेसनमा भर्ना भएकामध्ये ८ जना उपचारपछि घर फर्किएका छन् ।
अस्पतालमा भर्ना भएका २४ जनामध्ये ८ जना उपचारपछि घर फर्किएको बताइएको छ । दश जना अहिले पनि उपचारका क्रममा रहेका छन् । पाँच जनालाई कोरोनाको कुनै लक्षण नदेखिएपछि ‘होम क्वारेन्टाइन’मा बस्न सुझावसहित फिर्ता गरिएको छ । भर्ना भएकामध्ये छ जना राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट घर पठाइएको छ भने बेलझुण्डीबाट दुई जनालाई घर फिर्ता गरिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दका अनुसार अहिले बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा १० जनाको उपचार जारी छ । उपचार गराएकामध्ये ११ जनाको स्वाब परीक्षण गरिएको छ । ‘दाङबाट पठाइएको स्वाबको सबै रिपोर्ट नेगेटिभ आएको छ ।’ उनले भने, ‘बेलझुण्डीमा उपचार गराइरहेकामध्ये पाँच जनाको सोमवार स्वाब परीक्षणका लागि नमूना संकलन गरिएको छ ।’
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश सरकारले सञ्चालन गरेको कोरोना विशेष अस्पतालमा कतार र भारतबाट आएका नागरिक मात्रै भर्ना भएका छन् । साथै सबै स्थानीय पालिकाले आइसोलेशन अगावै क्वारेन्टाइनमा राखेर उपचार गरिरहेका छन् ।
दाङका सबै स्थानीय तहले कोरोना भाइरसको न्यूनीकरणका लागि क्वारेन्टाइन निर्माण गरेका छन् । कम्तीमा पाँचदेखि ६० शय्यासम्मका क्वारेन्टाइन छन् ।