कोभिड–१९ का लागि तय गरिएको अस्पतालका लागि प्रोटोकल निर्धारण

काठमाडौं, १८ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का लागि तय गरिएका अस्पतालका लागि प्रोटोकल निर्धारण गरेको छ ।
मन्त्रालयले कोभिड–१९ का लागि अस्पतालहरुलाई अनिवार्य कोभिड क्लिनिक सञ्चालन गर्न तथा कोभिड–१९ को शंकास्पद बिरामीहरुको लागि मन्त्रालयले प्रोटोकल निर्धारण गरेको हो ।
मन्त्रालयले कोभिड उपचारका लागि तोकिएका सबै डेजिग्नेटेड हस्पिटल, हब हस्पिटलहरु, प्रादेशिक अस्पताल एवं प्रदेश अन्तर्गतका अस्पतालहरु, मेडिकल कलेज, शिक्षण अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुलाई कोभिड क्लिनिकका अतिरिक्त अन्य आकस्मिक स्वास्थ्य उपचार सेवाहरु प्रदान गर्न भनिएको छ । साथै त्यस्ता व्यक्तिको उपचार गर्दा कार्यरत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी, बिरामी र बिरामीका आफन्तहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर आवश्यक प्रबन्ध मिलाउन पनि भनिएको छ ।
मन्त्रालयले अन्य अस्पतालको हकमा आकस्मिक उपचार तथा एक्युट केयर प्रदान गर्नुपर्ने स्वास्थ्य सेवाहरु यथावत सञ्चालन गर्नपनि भनेको छ ।