विदेशबाट आएका ४१ हजार नागरिक पहिचान गरेको सरकारको दावी
सातवटै प्रदेशमा पुग्यो स्वास्थ्य उपकरण

काठमाडौं, १७ चैत । सरकारले बाहिरबाट नेपाल भित्रिएका ४१ हजार नागरिकको पहिचान गरेको स्वास्थ्य मन्त्रालयले दावी गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग गरेको समन्वय अनुसार गएको एक महिनामा बाहिरबाट नेपाल भित्रिएका झन्डै ४१ हजार एक सय ४० जनाको अद्यावधिक गरिएको हो । उनीहरु सबैलाई क्वारेन्टाइनमा बस्न भनिएको छ ।
उनीहरुको अद्यावधिकपछि कोरोनासँग मिल्दो जुल्दो समस्या देखिए तुरुन्त उनीहरुलाई सम्पर्कमा ल्याउन सहज हुने भएकाले तथ्यांक संकलन गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै सोमबारसम्म ९ सय ९३ जनाको नमूना परीक्षण गरिएकोमा ५ जनामा कोरोना पोजेटिभ देखिएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमवार मात्रै ७६ वटा नयाँ नमूना परीक्षणका लागि प्रयोगशालामा भन्दै हाल ३ जना टेकु अस्पतालको आइसोलेसनमा र ४ जना पाटन अस्पतालको आइसोलेसनमा भर्ना भएको बताए । यस्तै धरानमा हालसम्म १९ वटा नमूना परीक्षण गरिएको र ६ वटा नयाँ नमूना जाँच भइरहेको पनि बताए ।
डा देवकोटाले सातवटै प्रदेशमा कोरोना परीक्षणको तयारी पूरा भएको पनि बताएका छन् । उनले सातवटै प्रदेशमा कोरोना परीक्षणका लागि मेसिनहरुको जाँच गरिएको र जाँचपछि जडानपनि भइसकेको जानकारी गराए । उनले सबै प्रदेशमा एक हजार थानका दरले व्यक्तिगत सुरक्षा उपकरण, १० हजार मास्क र २० हजार पञ्जा सोमवारै पठाइएको बताए ।
विराटनगर, धनगढी र सुर्खेतमा सोमवारै प्लेनबाट सामाग्रीहरु पठाइएको र अन्य प्रदेशमा गाडीबाट सामानहरु पठाइएको जानकारी दिँदै प्रवक्ता देवकोटाले क्लोरिन र अन्य आवश्यक सामग्रीपनि पठाइएको बताए ।
यस्तै हाल कोरोना पोजेटिभ देखिएका ४ जना व्यक्तिहरुको सम्पर्कमा आएका जतिपनिको नमूना परीक्षण गरिएको छ । सबैको नेगेटिभ नतिजा आएको पनि उनले प्रस्ट पारे । साथै अन्यको खोजी भइरहेको पनि बताए ।