पाटन र वीर अस्पताल मृत्यु प्रकरणः स्वास्थ्य मन्त्रालयको प्रतिक्रिया यस्तो छ

काठमाडौं, १७ चैत । वीर अस्पतालमा मृत्यु भएका बिरामीहरुमा कोरोना भए नभएको पुष्टि हुन बाँकी रहेको सरकारले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार आफ्नो नियमित प्रेस ब्रिफिङको क्रममा एक जना बिरामी उच्च रक्तचाप र मधुमेहका बिरामी भएको र ज्वरो आएपछि उनी वीर अस्पताल भर्ना भएको र अर्का एक जना भारतीय नागरिक कालिमाटी बस्दै आएका बिरामीलाई ज्वरो आएर अस्पतालमा भर्ना गरिएकोमा मृत्यु भएको जनाएको छ ।
उनीहरु दुबै जनाको कोरोना परीक्षणका लागि नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको र नतिजा आउन भने बाँकी रहेको मन्त्रालयका प्रंवक्ता डा.विकास देवकोटाले बताए ।
उनले सोमबारसम्म ९ सय ९३ जनाको नमूना परीक्षण गरिएकोमा ५ जनामा कोरोना पोजेटिभ देखिएको भन्दै सोमवार मात्रै पाटन अस्पतालमा मृत्यु भएको व्यक्तिको पनि कोरोना परीक्षणका लागि नमूना पठाइएको जानकारी दिए ।
उनले नेपालभरीबाट ९३ वटा नयाँ नमूना आएको र २ सय १७ वटा नमूना संकलन गरिएको जानकारी दिँदै हाल ३ जना टेकु अस्पतालको आइसोलेसनमा र ४ जना पाटन अस्पतालको आइसोलेसनमा भर्ना भएको बताए ।