कोरोना भाइरसका बारेमा भ्रम फैलाउनेलाई संक्रामक रोग ऐन अनुसार कारबाही गरिने

काठमाडौं, १७ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नोवेल कोरोना भाइरस अर्थात् कोभिड–१९ बारेमा भ्रम फैलाउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
मन्त्रालयले सोमवार गरेको नियमित प्रेस ब्रिफिङको क्रममा स्वास्थ्य मन्त्रालयका स्वास्थ्य विज्ञ खेम कार्कीले कोभिड–१९ बारे गलत र भ्रामक कुरा फैलाएमा संक्रामक रोग ऐन अनुसार कारबाही गर्ने जनाएका हुन् ।
विश्व स्वास्थ्य संगठन र मन्त्रालय बाहेकका अन्य कुनैपनि स्रोत र सूचनाका आधारमा समाचार बनाउन नपाउने कार्कीको भनाइ छ ।
डा. कार्कीले कोरोना भाइरसको संक्रमणको लोकल ट्रान्समिसन नदेखिएकाले धेरै भयभीत नहुन र सबै मृत्युका घटनालाई कोरोनासंग नजोड्न आग्रह गरेका छन् । जो मर्यो त्यो कोरोनाले मर्यो भन्ने किसिमको प्रचार प्रसार हुनु दुखद भएको डा. कार्कीले वताए ।
कोरोना संक्रमण भईसकेपछि पनि १५ प्रतिशत मानिसमा मात्रै जटिल किसिमको लक्षण देखिने र ५ प्रतिशत मानिसलाई मात्रै अस्पताल भर्ना गर्नुपर्ने अवस्था रहेकोले धेरै डर र भय नपाल्न डा. कार्कीले आग्रह गरेका छन् ।