बुटवलको कोरोना अस्पतालमा मृत्यु भएका युवामा कोरोना नेगेटिभ

बुटवल, १७ चैत । बुटवलस्थित कोरोना विशेष अस्पतालको आइसोलेसन वार्डमा मृत्यु भएका ३४ वर्षीय बाबुराम थापाको दोश्रो स्वाब परीक्षण नतिजामा पनि कोरोना नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको दोश्रोे टेष्टमा उनमा कोरोना नेगेटिभ देखिएको हो । उनको के कारणले मृत्यु भएको हो भन्ने प्रष्टाइएको भने छैन ।
थापामा कोरोना संक्रमणको लक्षणहरु देखिएपछि दोस्रो पटक स्वाब परीक्षण गरिएको हो । अस्पतालको आइसोलेसन वार्डमा चार दिनदेखि उपचार गराइरहेका पाल्पा घर भई रूपन्देहीको सैनामैना नगरपालिकामा बस्दै आएका थापाको आइतबार मृत्यु भएको थियो ।
उनका छिमेकीका अनुसार उनी दुबईमा ट्याक्सी चालक थिए । उनी ६ चैतमा दुबईबाट काठमाडौं आएका थिए । काठमाडौंबाट बस चढेर ७ चैतमा परिवारको सम्पर्कमा आएका थिए । १० चैतदेखि उनलाई ज्वरो र खोकी लाग्न थालेपछि स्थानीय कै सल्लाहमा ११ चैतमा स्थानीय मेडिकलमा स्वास्थ्य परीक्षण गराएका थिए । सुरुमा टाइफाइडको औषधि खाए ।
रिपोर्टमा कोरोना नेगेटिभ देखिएको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु राजेन्द्र खनालले बताए । मृतक क्षेत्रीको स्वाबको पहिलो परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि दोश्रो परीक्षण गरिएको र दोश्रो रिपोर्ट पनि नेगेटिभ देखिएको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु खनालले बताए ।