लकडाउन चैत २५ गतेसम्म, कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई निःशुल्क २५ लाखको बीमा

काठमाडौं, १६ चैत । सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि गरेको लकडाउन चैत २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनका साथै २५ गतेसम्म सीमा नाकापनि बन्दै राख्ने निर्णय गरेको हो । यद्यपी अत्यावश्यक सेवा र वस्तुको ढुवानीलाई खोल्ने निर्णय भएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए । त्यस्तै सरकारले बैशाख २ गतेसम्म सम्पूर्ण हवाई उडान सेवा पनि बन्द राख्ने निर्णय गरेको हो ।
स्वास्थ्यकर्मीलाई २५ लाखको बीमा
कोरोना भाइरस रोकथाम, उपचार र नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई आउँदो असार मसान्तसम्म निःशुल्क २५ लाखसम्मको बीमा गर्नेपनि सरकारले निर्णय गरेको छ । यसमा सबै स्वास्थ्यकर्मी, कर्मचारी, एम्बुलेन्स चालक र प्रहरी लगायत सुरक्षाकर्मी समेत पर्नेछन् ।
क्वारेन्टाइनमा निःशुल्क खाना
सरकारले कोरोना भाइरस संक्रमणको आशंकामा क्वारेन्टाइनमा राखिएकाहरुलाई स्थानीय तह तथा प्रदेश सरकारको व्यवस्थापनमा निःशुल्क खाने व्यवस्था मिलाउने पनि निर्णय गरेको छ ।
क्वारेन्टाइनमा नबस्नेलाई ६ महिना कैद
विभिन्न ठाउँमा बिरामीहरु क्वारेन्टाइनमा नबसेको समाचार आइरहेका बेला त्यस प्रवृत्ति उपर प्रशासन कडा रुपमा प्रस्तुत हुने निर्णय गरिएको छ । क्वारेन्टाइन वा आइसोलेसनमा बस्न नमान्नेहरुलाई ६ महिनासम्म कैद गर्नसकिने स्मरण गराइएको छ ।
मदिरा र सूर्तिजन्य पदार्थ आयत निषेध
सरकारले कोरोना भाइरस नियन्त्रणमा आएर अर्को व्यवस्था नहुँदासम्म मदिरा तथा सूर्तिजन्य पदार्थ आयातमा निषेध गर्ने निर्णय भएको छ ।
स्वास्थ्यको बजेट वृद्धि गर्ने
सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्ने मूख्य विभागीय मन्त्रालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेटमा वृद्धि गर्ने निर्णय पनि गरेको छ । यसका लागि सरकारका सबै राहत तथा उद्दार कोषबाट खर्च गर्नुका साथै सरकारका अन्य पुँजीगत बजेटबाट रकमान्तर गरेर समेत खर्च गर्न सकिने सूचना प्रविधि तथा सञ्चारमन्त्री खतिवडाले जनाएका छन् ।
स्वास्थ्य उपकरण आयातमा भन्सार मिनाहा, निजी अस्पतालमा २० प्रतिशत छुट
सरकारले यो बीचमा विदेशबाट स्वास्थ्य उपकरण आयात गर्दा निजी तथा गैरसरकारी क्षेत्रलाई समेत भन्सार मिनाहा गर्ने निर्णय गरेको छ । साथै सबै निजी अस्पताल तथा स्वास्थ्य संस्थालाई आफ्ना सबै सेवा सुचारु राख्न र चैत मसान्तसम्म सबै सेवामा बिरामीलाई २० प्रतिशत छुट दिन सरकाले निर्देशन दिएको छ ।
विविध निर्णय
फागुन र चैतको विद्यतु महसुल १५० युनिटसम्म २५ प्रतिशत छुट दिने पनि सरकारले निर्णय गरेको छ । त्यसतै खाद्य संस्थाले बेच्ने उपभोग्य बस्तुमा पनि १० प्रतिशत छुट दिने निर्णय गरिएको छ । त्यस्तै साझेदारी तथा निजी व्यवसायी तथा उद्यमीले मुअक, दोश्रो चौमासिकको विवरण र कल दाखिला गर्ने म्याद बैशाख २५ सम्म पुर्याइएको छ । आयकर दाखिला गर्ने तथा कम्पनी नविकरण गर्ने म्याद पनि बैशाख मसान्तसम्म पुर्याइएको छ । साथै सरकारको कोरोना रोकथाम कोषमा योगदान गर्नेहरुले त्यसबराबरको कर दाखिलामा कटौति गर्नसकिने पनि व्यवस्था गरिएको छ ।
सरकारले शिक्षा मन्त्रालयबाट एनओसी लिएका तथा नलिएका समेत वा वैदेशिक रोजगारीमा रहेकाहरुलाई पनि न्यूनतम राहत रकम दिने निर्णय गरेको छ । घरभेटीहरुलाई यो महिनाको भाडा नलिन प्रोत्साहित गर्ने र त्यसबापट घरभाडाकर मिनाहा गर्ने पनि सरकारी निर्णय छ । त्यस्तै सवारी साधन, दर्ता, नविरण, कर भुक्तानी तथा रुट पर्मिटका लागि पनि बैशाख मसान्तसम्म म्याद थपिएको छ ।
त्यस्तै विदेश जान श्रम स्वीकृति लिएर जान नपाएका वा फर्किएकाहरुको लागत स्थानीय तहमार्फत राखी प्रधानमन्त्री रोजगार कोषबाट रोजगारी दिने सरकारी निर्णय छ । त्यस्तै सरकारी ठेक्का तथा अन्य सेवाका लागि निजी वा गैरसरकारी क्षेत्रसँग भएका सम्झौताको काम एकमहिना रोक्ने र त्यसबापत बैंक ग्यारेन्टी चाहिनेमा बैंकले थप एकमहिना बिना शुल्क बैंक ग्यारेन्टी दिनुपर्ने सरकारले निर्णय गरेको छ ।
सरकारले कोरोनाको सम्भावित जोखिम न्यूनिकरणका लागि सरकारी बजेट रकमान्तर गरेर भएपनि खर्च गर्ने निर्णय गरेको छ । त्यसका लागि सरकारी कोष, प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषबाट पनि खर्च गरिने भएको छ ।
सरकारले विश्व वैंकबाट प्राप्त हुने करिब ३ अर्ब र मुद्राकोषबाट पाउने १३ अर्ब ऋण पनि लिने निर्णय गरेको छ । त्यस्तै एशियाली विकास बैंकबाट पाउने पचास मिलिनय सहयोग कार्यक्रम पनि स्वीकार गरेर गर्ने निर्णय गरको छ ।