प्रदेश २ का २३२ जना क्वारेन्टाइनमा, परीक्षण किट अभाव



Download our app to get more features

जनकपुरधाम, १६ चैत । प्रदेश २ मा कोरोना भाइरस सम्भावित संक्रमणको आशंकामा दुई सय ३२ जना क्वारेन्टाइनमा छन् । भारत तथा तेस्रो मुलुकबाट नेपाल आएका २३२ जना प्रदेश २ को विभिन्न जिल्लास्थित क्वारेन्टाइनमा राखिएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रौतहटमा ६५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना संक्रमणकै आशंकामा रौतहटबाट ३ जनाको स्वाब परीक्षणको लागि काठमाडौं पठाइएको निर्देशनालयले जनाएको छ । रौतहटको चन्द्रनगर नगरपालिकास्थित चन्द्रपुर हस्पिटल प्रालिमा भर्ना भएका तीन जनाको स्वाब परीक्षणको लागि काठमाडौं पठाएको निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले जानकारी दिए ।

सप्तरीस्थित विभिन्न क्वारेन्टाइनमा १२२ र सिरहामा १५ जना तथा ६ जना होम क्वारेन्टाइनमा रहेको झाले बताए । धनुषाको नगराईन नगरपालिकाको गंगुलीस्थित क्वारेन्टाइनमा ११ जना र होम क्वारेन्टाइनमा २ जना रहेको उनले जानकारी दिए । निर्देशनालयको अनुसार महोत्तरीस्थित क्वारेन्टाइनमा अहिलेसम्म कसैलाई राखिएको छैन ।

सर्लाहीमा दुई जना क्वारेन्टाइन, १९ जना होम क्वारेन्टाइनमा र पर्सामा १५ जनालाई क्वारेन्टाइनमा राखिएको निर्देशनालयले जनाएको छ । बारामा १५ जनालाई क्वारेन्टाइनमा राखिएको छ भने बाराको कलैयास्थित अस्पतालमा भर्ना भएका तीन जनाको स्वाब परीक्षणको लागि काठमाडौं पठाइएको छ । रौतहट र बाराका ६ जनाको स्वाब परीक्षणका लागि शुक्रबार नै काठमाडौं पठाइए पनि हालसम्म रिपोर्ट आइनसकेको निर्देशनालयले जनाएको छ ।

क्वारेन्टाइनमा शंकास्पदहरु रहे पनि प्रदेश २ मा हालसम्म कुनै व्यक्तिको कोरोना भाइरस पोजेटिभ रिर्पोट आएको छैन । यसतै कोरोना परीक्षणको लागि आवश्यक किटको समते अभाव रहेको निर्देशनालयले जनाएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts