कोरोना भाईरस उपचारका लागि बि एण्ड सी अस्पताल सरकारलाई दिन तयार

झापा, १४ चैत । झापाको बि एण्ड सी टिचिङ हस्पिटल नोवेल कोरोना भाईरस (कोडिभ–१९) को उपचारका लागि राज्यलाई दिन तयार रहेको अस्पतालका सञ्चालकले घोषणा गरेका छन् ।
सञ्चालक दुर्गा प्रसाईंले आज विज्ञप्ति जारी गरी अस्पतालसँग कोभिड–१९ जाँचका लागि स्वास्थ्यकर्मीलाई चाहिने आवश्यक पोशाक, पिपिई र किट्स नभएको बताउँदै सरकारीसरह राज्यले खर्च व्यहोरेर सञ्चालन गरे आफू अस्पताल दिन तयार रहेको बताएका छन् ।
आठ सय साधारण शैया, एक सय सघन उपचार कक्ष र २५ भेन्टिलेटरसहितको सघन उपचार कक्ष रहेको हस्पिटलमा १ सय ५ चिकित्सक छन् । ‘सरकारले मात्र उपलब्ध गराउने सक्ने किट्स र जाँच उपचारका लागि प्रयोग हुने सुरक्षित उपकरणहरु, पिपिई सेट उपलब्ध नभएका कारण हामी यो उपचार गर्न र परीक्षण गर्न सकिरहेका छैनौंँ, सरकारले यो विषम परिस्थितिमा कोरानाको उपचार र परीक्षणका लागि यो हस्पिटल उपयोग गर्न चाहन्छ भने हामी दिन तयार छौं ।’ विज्ञप्तिमा छ । प्रसाईँले अस्पतालको मेचीनगर १२ स्थित धाइजनमा बेसिक साइन्स पढाउनका लागि तयार गरिएको भवनमा समेत ५०० शैयाको क्वारेन्टाइन बनाउन सकिने बताए ।
झापा, इलाम, पाँचथर र ताप्लेजुङका २५ लाखभन्दा बढी मानिसले उपचार सेवा लिन सक्ने हस्पिटलमा कोराना भाइरसको उपचार गरिनुपर्ने स्थानीयवासीले सामाजिक सञ्जालमार्फत माग गर्दै आएका थिए ।