मुटुको धड्कन बढेपछि प्रधानमन्त्री ओली रातिदेखि नै अस्पतालमा

काठमाडौं, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओली बिहीवारदेखि हस्पताल भर्ना भएका छन् ।
स्वास्थ्यमा असहज महसुस भएपछि प्रधानमन्त्री बिहीवार राति नै अस्पताल भर्ना भएका हुन् ।
मुटुको धडकन बढेपछि बिहीवार राति ११ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनलाई भर्ना गरिएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले हाम्रो डाक्टर नयूजलाई दिएको जानकारी अनुसार औषधि सेवनपछि प्रधानमन्त्री ओलीको अवस्था अहिले सामान्य रहेको छ र चिकित्सकको जाँच तथा सुझावका आधारमा आज साँझसम्ममा ओलीलाई डिस्चार्ज गर्ने तयारी भएको छ ।
ओलीमा कामको धपेडीका कारण मुटुको धडकन बढेको चिकित्सकले बताएका छन् । फलोअपका लागि प्रधानमन्त्री अस्पताल जाने बारेमा बिहीवार बालुवाटारमा छलफल भएको तर मुटुको धडकन केही बढेपछि राति नै उनी अस्पताल भर्ना भएका हुन् ।
ओलीको गत फागुन ३० गते शिक्षण अस्पतालमै दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो र उनी ११ दिनपछि बालुवाटार फर्केका थिए । प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्दा उपचारमा संलग्न चिकित्सकले सङ्क्रमणको जोखिममा रहेको भन्दै सावधानी अपनाउन सुझाव दिएका थिए ।