के देउराली जनताले नि:शुल्क बाँड्ने भनेको औषधिले कोरोना ठीक हुन्छ ?

काठमाडौं, १३ चैत । विश्वव्यापी महामारी बनेको कोभिड-१९ को उपचारका लागि देउराली जनता फर्मास्यूटिकल्सले सरकारलाई सघाउने भन्दै २ दिनअघि विज्ञप्ति जारी गर्यो ।
फर्मास्यूटिकल्सले कोभिड-१९ को उपचारका लागि हाईक्वीन २०० ब्रान्डको हाइड्रोक्सिक्लोरोक्वीन सल्फेट ट्याबलेट सरकारलाई निःशुल्क उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख गरेको छ ।
विज्ञप्तिमा यो औषधिले नोवेल कोरोना भाइरसको उपचारमा उपयोगी भएको भन्दै विभिन्न अध्ययनले खुलाएका दावी गर्दै सरकारलाई फर्मास्यूटिकल्सले पर्याप्त मात्रामा निःशुल्क वितरण गर्ने पनि उल्लेख गरेको थियो । फर्मास्यूटिक्लसको यो घोषणासँगै बजारमा औषधिको माग ह्वात्तै बढेको छ ।
हाड्रोक्सीक्लोरोक्वीन मुख्यतः मलेरिया लागेका बिरामीहरुका लागि प्रयोग हुने औषधि हो । यसका साथै यो औषधि लुपस लगायतका अन्य केही रोगका बिरामीहरुमा पनि प्रयोग हुँदै आएको छ ।
कोभिड-१९ मानिसको रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुलाई छिट्टै लाग्ने भएकाले यो औषधिको प्रयोगबाट उनीहरुको प्रतिरोधात्मक क्षमता बढाएर रोगबाट जोगाउन सकिने तर्क पेश गर्दै फर्मास्यूटिकल्सले हाइड्रोक्सिक्लोरोक्वीन सल्फेट ट्याबलेट बनाउने भनेर तयारी सुरु गरेको जनाएको छ ।
यो विषयमा अहिलेसम्म अन्तर्राष्ट्रिय स्तरमै पनि ठोस नतिजा आइसकेको अवस्था भने छैन । तर, अमेरिकामा पनि हाइड्रोक्सिक्लोरोक्वीन सल्फेट ट्याबलेटको विषयमा परीक्षण भने सुरु भएको छ ।
यता, औषधिको नियमनकारी निकाय औषधि व्यवस्था विभागले भने देउराली जनता फर्मास्यूटिकल्सले घोषणा गरेको बारेमा कुनै जानकारी नभएको जनाएको छ ।
विभागका महानिर्देशक नारायण प्रसाद ढकालले हाम्रो डाक्टर न्यूजसँग कुराकानी गर्दै देउराली जनताले हाइड्रोक्सिक्लोरोक्वीनको विषयमा उत्पादन बढाउने भनेर गरेको घोषणाबारे केही जानकारी नभएको बताए ।
उनले भने, ‘मैलेपनि सामाजिक सञ्जालबाट देउराली जनताले हाइड्रोक्सिक्लोरोक्वीन नामक औषधि कोभिड-१९ को उपचारका लागि उपयोगी रहेको र उत्पादन बढाएर सरकारलाई निःशुल्क दिने भन्ने विषयमा थाहा पाएँ । तर, हामीसँग यो विषयमा अहिलेसम्म देउरालीले कुनै छलफल वा संवाद गरेको छैन ।’
फर्मास्यूटिकल्सले विभिन्न अध्ययनमा हाइड्रोक्सिक्लोरोक्वीन सल्फेट ट्याबलेट कोभिड-१९ को उपचारमा उपयोगी भनेर उल्लेख गरेपछि कुन संस्थाले गरेको अध्ययन हो भन्ने आधिकारिकताका बारेमा चाहिँ स्पष्ट खुलाएको छैन ।
औषधि विज्ञ राजन बहादुर रावतका अनुसार भने देउरालीले हाइड्रोक्सिक्लोरोक्वीनका लागि विभागमा दर्ता गराइसकेकाले उसले विभागसँग फेरि स्वीकृति लिन नपर्ने बताएका छन् ।
हाम्रो डाक्टर न्यूजसँग कुराकानी गर्दै उनले विभागमा दर्ता भएको औषधिको विषयमा फेरि स्वीकृति लिन नपर्ने तर, औषधिको विश्वसनीयता र त्यसको पुष्टि के हो भन्ने विषयमा अनुसन्धान गर्नुपर्ने उल्लेख गरे ।
उनले भने, ‘अहिलेसम्म ४ लाखभन्दा बढी मानिस नोवेल कोरोना भाइरसका कारण संक्रमित भएकोमा जम्मा २० जनामा यो औषधिको परीक्षण गरिएको तथ्यहरु सार्वजनिक गरिएको छ । तर, ती व्यक्ति त्यहि औषधिको सेवनबाट स्वस्थ भएका हुन् वा उपचारपछि स्वस्थ भएका हुन् भन्ने प्रष्ट भएको छैन ।’
४ लाखभन्दा बढी संक्रमित भएको विश्वमा २० जनामा यदि परीक्षण भएको हो भनेपनि त्यसको वास्तविकता के हो त्यसमा अझै स्पष्ट हुन नसकेकाले यो औषधि कतिको उपयोगी हुन्छ भन्न अहिले नै नसकिने पनि रावतले प्रस्ट पारे ।
यो अवस्थामा देउराली जनता फर्मास्यूटिकल्सले बनाउन लागेको हाइड्रोक्सिक्लोरोक्वीन सल्फेट ट्याबलेट कसरी विश्वसनीय हुन्छ भन्नेमा अझै प्रश्न चिन्ह खडा नै छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हाईक्वीन ब्राण्डको औषधिलाई अमेरिकाको खाद्य तथा औषधि विभागले मान्यता दिइसकेको बताएका छन् । साथै अमेरिकाले ७० हजार हाइड्रोक्सिक्लोरोक्वीन औषधि उत्पादनका लागि पनि स्वीकृति दिइसकेको छ ।
अमेरिका सरकारले मान्यता दिएको औषधिको नामभन्दा फरक क्लोरोक्वीन नामक औषधिको सेवन गरेपछि अमेरिकाको एरिजोनामा एक जनाको मृत्यु भएको छ । क्लोरोक्वीन पनि हाड्रोक्सीक्लोरोक्वीन जस्तै मलेरियाको लागि प्रयोग हुने अर्को औषधि हो ।
तर, नाम मिल्दोजुल्दो सुनेपछि ती व्यक्तिले औषधि सेवन गरेको दावी गरिएकाे छ ।
तर, अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले मार्च २५ मा प्रकाशित गरेको समाचार अनुसार ती व्यक्तिको हाइड्रोक्सिक्लोरोक्वीन सल्फेट नामक औषधि सेवन गरेपछि उनको मृत्यु भएको जनाइएको थियाे ।