नेपाल दक्षिणपूर्वी एशियाली क्षेत्रमा ट्रकोमामुक्त गर्ने पहिलो देश, डब्लुएचओद्वारा सम्मान

काठमाडौं, १३ चैत । विश्व स्वास्थ्य संगठनले नेपाललाई ट्रकोमा रोग मुक्त भन्दै सम्मान गरेको छ ।
संगठनले नेपालमा ट्रकोमा रोग जनस्वास्थ्य समस्याको रुपमा नरहेको भन्दै दक्षिणपूर्वी एशियाली क्षेत्रको पहिलो देशको रुपमा सम्मान गरेको हो ।
नेपाल सरकारको सहयोगमा नेपाल नेत्रज्याति संघले राष्ट्रिय ट्रकोमा कार्यक्रम सञ्चालन गरि ट्रकोमा रोग निवारण गर्न सफल भएको जनाइएको छ ।
संघले विश्व स्वास्थ्य संगठनको मापदण्डका आधारमा सन् २०११ मा नेपालमा अन्धोपनको पछिल्लो अवस्थाको जानकारी प्राप्त गर्न राष्ट्रिय अन्धोपन सर्वेक्षण गरेको थियो । सर्वेक्षणको निष्कर्स अनुसार नेपालमा अन्धोपनको स्थिति सन् १९८१ को शून्य दशमलव ८४ प्रतिशतबाट घटेर सन् २०११ मा शून्य दशमलव ३५ प्रतिशतमा झरेको पाइयो । सर्वेक्षणको आधारमा संघले अन्धोपनमध्ये ८० प्रतिशत अन्धोपनको समस्यालाई उपचारबाटै निराकरण गर्न सफल भएको पनि बताएको छ ।
विश्व स्वास्थ्य संगठनले प्रकाशित गरेको तथ्यांक अनुसार हाल विश्वमा २२ करोड व्यक्तिमा कुनै न कुनै किसिमको आँखाको रोगको समस्या रहेको छ । जस मध्ये ६ करोड ५२ लाख मानिस मोतीबिन्दुबाट, ६९ लाख मानिस जलबिन्दुबाट, १२ करोड ३७ लाख मानिस दृष्टिदोषबाट र २ करोड २० लाख व्यक्ति अन्य विभन्न प्रकारका आँखा रोगको समस्याले ग्रसित छन् ।