दीर्घरोगीको पनि कोरोना परीक्षण गरिने, चैत ४ मा नेपाल फर्केका एक सय २५ यात्रुको पहिचान



Download our app to get more features

काठमाडौँ, १२ चैत । सरकारले अबदेखि दिर्घरोगीका साथै ६० वर्षमाथिका सबै वृद्धवृद्धाको पनि कोरोना परीक्षण गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार पत्रकार सम्मेलन फ्लू जस्तो लक्षण देखिने व्यक्तिको पनि अबदेखि कोरोनाको परीक्षण गर्ने जनाएको हो ।

मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले दिर्घरोगीमा चाँडै संक्रमण हुने भएकाले त्यस्ता व्यक्तिलाई स्थानीय स्तरमै फिवर क्लिनिक सञ्चालन गर्ने र आशंका लागेका व्यक्तिको कोरोना जाँचका लागि राष्ट्रिय प्रयोगशालामा पठाउन आग्रह गरिएको बताए । 

गत सोमवार पत्रकार सम्मेलन गरि फ्रान्सबाट फर्केकी एक किशोरीमा कोरोनाको संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या दुई पुगेको हो । यसअघि जनवरीमा वुहानबाट फर्केका एक युवकमा कोरोना देखिएको थियो । 

उनी उपचारपछि निको भएर घर फर्कि सकेका छन् भने ती किशोरीको अहिले शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।

यसैबीच सरकारले फ्रान्सबाट कतारको दोहा हुँदै गत चैत ४ गते नेपाल आएको विमानमा सवार १ सय २५ जना यात्रुको पहिचान भएको जनाएको छ । 

कतार एयरवेजको विमानमार्फत् कारोना संक्रमित युवतीसँगै काठमाडौं उत्रिएका उनीहरुको पहिचान गरिएको नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले जानकारी दिए । क्षेत्रीका अनुसार ती युवतीसँगै आएका अन्यको विवरण प्रहरीले अध्यागमनसँग मगाएको थियो । सोही अनुसार अध्यागमनले १ सय ५८ जनाको नामको सूची पठाएको पनि उनले बताए । ती मध्ये १ सय २५ जनाको ठेगाना प्रहरीले पहिचान गरिसकेको छ ।

पहिचान भएका सबैलाई सेल्फ क्वोरेन्टाइनमा राख्ने तयारी भइरहेको छ भन्दै प्रवक्ता क्षेत्रीले क्वारेन्टाइनमा राख्नुभन्दा पहिला उनीहरु सबैको स्वास्थ्य जाँचसमेत गरिने बताए । 

यसअघि सोमवार फ्रान्सबाट आएकी युवतिमा कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्य आपतकालिन कार्यान्वयन इकाईले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई विमानमा सवार अन्य यात्रुको खोजी गर्न निर्देश्न दिँदै २४ घन्टाको समय दिएको थियो ।

सोही निर्देशन अनुसार उनीहरुको खोजीका लागि नागरिक उड्ययन प्राधिकरण र प्रहरीको समन्वयमा पहिचान गरिएको महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले हाम्रो डाक्टरन्यूजलाई बताए ।

Last modified on 2020-03-25 08:00:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts