६० नयाँ नमूना टेकु प्रयोगशालामा, डब्लुएचओले भन्योः परीक्षणको क्षमता बढाऊ

काठमाडौं, १२ चैत । विश्वव्यापी महामारी कोरोना भाइरस हुनसक्ने आशंकामा मंगलबार ६० वटा नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ल्याइएको छ ।
देशभरबाट संकलित नमूना प्रयोगशालामा ल्याइएको हो । देशका विभिन्न फिभर क्लिनिकबाट जम्मा भएका र्यालको परीक्षण अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र भइरहेको छ । यसअघिसम्म प्रयोगशालाबाट जम्मा ६ सय १० जनाको नमूना परीक्षण गरिएको छ भने दुईजनामा मात्र कोरोना संक्रमण भएको पाइएको छ भने अरु सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
सरकारले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र नमूना परीक्षण गरेर नसकिने भएपछि सरकारले धुलिखेल अस्पताल, वीर अस्पताल, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत स्थानमा पनि परीक्षणको व्यवस्था गर्ने तयारी गरेको जनाएको छ । यसका साथै नमूना परीक्षणका लागि त्रिभूवन विश्वविद्यालयले पनि आफ्ना तीनवटा ल्याव प्रयोग गर्न दिने जनाएको छ ।
विश्व स्वास्थ्य संगठनले भन्यो: प्रयोगशालाको क्षमता बढाऊ
विश्व स्वास्थ्य संगठनले सरकारलाई कोरोना भाइरस परीक्षणका लागि क्षमता बढाउन सुझाव दिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आफ्नो प्रतिनिधि पठाइ एकहप्तासम्म अध्ययन गरेको संगठनले प्रयोगशालाका अन्य पक्ष राम्रो भएपनि परीक्षण गर्न सक्ने क्षमतामा वृद्धि गर्न आवश्यक रहेको बताएको हो ।