मन्त्रीपरिषद निर्णयः सीमा नाका बन्ददेखि स्वास्थ्यकर्मीलाई पीपीई सुरक्षा उपकरणसम्म

काठमाडौं, १० चैत । सरकारले नोवेल कोरोना भाइरसको उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीहरुलाई पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पीपीई) सुरक्षा उपकरण उपलब्ध गराउने भएको छ ।
आइतबार अबेर साँझ बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि आवश्यक सबै उपकरण उपलब्ध गराउने निर्णय गरेको हो । सुरक्षा किट नहुँदा कोरोना भाइरस (कोभिड १९) सँग मिल्दोजुल्दो लक्षण भएका बिरामी अस्पताल जाँदा पनि चिकित्सकहरुसँग सुरक्षा उपकरण नहुँदा उपचार गर्न समस्या हुने गरेपछि सरकारले पीपीई लगायतका सुरक्षा उपकरण उपलब्ध गराउने भएको हो ।
यस्तै बैठकले सशस्त्र प्रहरीको अस्पताललाई कोरोना संक्रमितको उपचारमा मात्र केन्द्रित गर्ने निर्णय पनि गरेको छ ।
बैठकले फ्रन्ट डेस्कमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई ५० देखि शतप्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय समेत गरेको छ । यसअघि कोरोनासम्बन्धी उच्चस्तरीय समितिले २५ देखि ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद्ले त्यसलाई बढाएर ५० देखि शतप्रतिशत बनाएको छ ।
यस्तै कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधिजन्य सामाग्री सहज गर्न केन्द्रीय राहत कोष गठन गरिएको छ । मन्त्रिपरिषदको बैठकले शुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष गठन गरेको हो । कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्ने निर्णयसमेत भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
बैठकले नेपाललाई थप कडाइ गर्दै छिमेकी मुलुक भारत र चीनसँगको सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय समेत गरेको छ ।
सरकारले भारत र चीनतर्फका सबै सीमा नाकामा यात्रु आवागमन एक सातासम्म रोक्ने निर्णय गरेको जनाइएको छ ।
इसैगरि बैठकले आजबाट लागू हुनेगरि एक साताका लागि सबै अन्तर्राष्ट्रिय नाकाबाट यात्रु आवागमन स्थगित गर्ने निर्णय गरेको हो । आवागमन रोकिएपनि सामान आयात निर्यात भने नरोकिने थापाले बताए ।
भारतमा कोरोनाको संक्रमण देखिएपछि नेपालले सीमा नाका बन्द गर्ने प्रस्ताव राखेको थियो । भारतले कुनै ठोस जवाफ नदिएपछि नेपाल भारतसँगको सीमा नाका बन्द गर्ने निर्णयमा पुगेको हो ।
यी निर्णय कार्यान्वयनसँगै नेपाल ‘लक डाउन’ हुनेछ । आइतबार मध्यरातबाट नै नेपाल भित्रिने अन्तर्राष्ट्रिय उडानहरुमा रोक लगाइएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै एक चैत ९ देखि १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान रोक्ने घोषणा गरेका थिए ।
यस्तै आजबाट देशभित्रका लामो दुरीका यात्रुवाहक सवारी सञ्चालन पनि बन्द हुनेछ । आजबाट एक जिल्लाबाट अर्को जिल्लामा पनि जान नपाइने गरि सवारी बन्द गरिएको हो ।