इडिसिडीका निर्देशक डा. पाण्डे भन्छन्ः कोरोनाबारे हल्लाको पछि नलागौँ, आफ्नो स्वास्थ्यको ख्याल गरौं

काठमाण्डौ, ९ चैत । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले कोरोना भाइरसका बारेमा आउने अपवाहपूर्ण हल्लाको पछि नलागी आफ्नो स्वास्थ्यको ख्याल गर्न अपिल गरेका छन् ।
आइतबार महाशाखामा आयोजित पत्रकार अन्तक्र्रियामा डा. बासुदेव पाण्डेले अफवाहको पछि लागि त्रासमा नरहन आग्रह गरेका हुन् । पत्रकारहरुको प्रश्नको जवाफ दिदै डा. पाण्डेले हालसम्म अस्पतालमा सामान्य रुघाखोकी र ज्वरोका बिरामीको चाप बढेपनि कसैमा पनि कोरोना भाइरसको संक्रमण नदेखिएको र पहिलाको तुलनामा आफ्नो ज्वरो र शरीरको तापक्रम जाँच गर्नेको संख्या बढ्दै गएको बताए। त्यस्तै भारतबाट आउनेलाइ प्रमुख नाकामा थप स्वास्थ्यकर्मी खटाई नेपाल प्रवेश गर्नेको प्रत्येकको स्वास्थ्य जाँच गरिने र सकेसम्म नाकाबाट प्रवेशमा थप कडाई गरिने उनको भनाइ छ।
उनले कसैलाई पनि आफुमा भाइरस भएको आशंका लागेमा वा समस्या भएमा तत्काल काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जानकारी गराउन समेत आग्रह गरेका छन् ।
डा. पाण्डेले कारोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि सरकारका संयन्त्र क्रियाशिल रहेको भन्दै सबैलाई सहयोग गर्न अपिल गरे । सरकारले स्वास्थ्यकर्मीका लागि चाहिले पिपिई वा परीक्षका निम्ति आवश्यक पर्ने किटहरु प्लेन नै चार्टर गरेर भएपनि ल्याइने भन्दै सरकारको तयारी सशक्त रहेको दावी गरे ।