आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द, होम क्वारेन्टाइनलाई कडाई गरिने

काठमाडौं, ९ चैत । सरकारले शनिवार मध्यरातिदेखि नेपाल आउने सबै अन्तर्राष्ट्रिय उडानमामा प्रतिबन्ध लगाएको छ ।
शुक्रवार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ९ गते अर्थात् आजबाट देशभरका लामो दुरीका सवारीसाधन बन्द गर्ने र हवाई सेवापनि बन्द गर्ने बताएका थिए ।
यसैबीच, सिल्क एयरलाइन्सले कोरोना रोकथामका लागि प्रतिबन्ध लगाइएका मुलुकका केही नागरिक नेपाल आएको छ । विमानस्थलमा रोकिएको सिल्क एयरलाइन्सको विमानबाट ३ घन्टापछि यात्रुलाई ओरालिएको थियो ।
सिंगापुरबाट आएको उक्त विमानमा रहेका प्रतिबन्धित मुलुकका विदेशी पनि नेपाली मुलकै व्यक्ति रहेको जनाइएको छ ।
यस्तै नेपाल सरकारले घोषणा गरेको प्रतिबन्ध उल्लंघन गर्दै यसअघि पनि विदेशी विमान कम्पनीहरुले ६१ जना नेपालीलाई काठमाडौं ल्याएका थिए ।
अध्यागमन विभागकाअनुसार थाइ एयरवेजले ४९ र एयर इण्डियाले १२ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएका हुन् । उनीहरुलाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रस्थित क्वारेन्टाइनमा पठाइएको छ ।
यस्तै आजबाट सम्पूर्ण सरकारी, निजी तथा सामुदायिक कार्यालयहरुपनि बन्द हुँदैछन् । कोरोना भाइरसपनि सावधानी र नेपाल भित्रिन नदिन सरकारले आजबाट सबै कार्यालय बन्द गरेको हो ।
शनिवार अवेररातिसम्म बसेको कोरोना भाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समितिले भारतीय सीमा नाका एकतर्फी रुपले भएपनि बन्द गर्ने भएको छ । नेपालले सीमा नाका बन्द गर्न भारतसँग प्रस्ताव गरेपनि उसले अहिलेसम्म ठोस जवाफ नदिँदा नेपालले नै एकतर्फी रुपले सीमा नाका बन्द गर्ने विषयमा बैठकमा छलफल भएको हो ।
बैठकमा मन्त्रीहरुले नै भारतसँग सीमा नाका बन्द नगर्दा खोजिम बढेको बताएका छन् । स्रोतका अनुसार बहुसंख्यक मन्त्रीहरुले भारत सहमत भए सहमतिकै आधारमा र नभए एकतर्फी रुपमा भएपनि सीमा नाका बन्द गर्नुपर्नेमा मन्त्रीहरुले जोड दिएका छन् ।
यस्तै सरकारले होम क्वारेन्टाइनको कार्यान्वयनमा पनि कडाई गर्ने भएको छ । होम तथा सेल्फ आइसोलेसनमा बस्नुपर्नेहरु समेत नबसेको पाइएपछि सरकारले कडाई गर्न लागेको हो ।
उच्चस्तरीय समितिको बैठकमा क्वारेन्टाइन तथा आइसोलेसनमा बस्नु पर्नेहरु नबसेको, बिरामी चेकजाँचमा नगएका जस्ता विषयमा गम्भीर छलफल भएको थियो । बैठकले यसमा जोखिम नलिने भन्दै सुरक्षाका साथ नियन्त्रणमा लिएर क्वारेन्टाइन तथा आइसोलेसनमा राख्ने निर्णय गरेको छ ।
सरकार प्रव क्ता एवं अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले देशभर आवश्यकताअनुसार क्वारेन्टाइन बनाउने निर्णय गरेको बताए ।
बैठकले आफ्नो घर, स्कुल तथा होटलहरू क्वारेन्टाइन बनाउन सरकारलाइ दिने निजी क्षेत्रको अफर स्वीकार गरेको पनि उनले बताए । यस्तै सरकारले प्रदेश र स्थानीय सरकारहरूले बनाएको क्वारेन्टाइनको विवरण पनि लिनेछ र सबैमा एकरूपता कायम गर्नेछ ।
यस्तै स्वास्थ्य सामग्री आपूर्तिका लागि स्वदेशभित्र काम गर्ने गरी स्वास्थ्यमन्त्रीका संयोजकत्वमा समिति गठन भएको छ भने देशबाहिरबाट स्वास्थ्य सामग्री खरिदका लागि परराष्ट्रमन्त्रालयमार्फत काम अघि बढाइने छ ।
यसैगरी आपूर्ति अनुगमनलाई व्यवस्थापन गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको संयोजकत्वमा समिति गठन भएको छ भने राजनीतिक तथा सामाजिक समन्वयका लागि कृषिमन्त्रीको संयोजकत्वमा समिति गठन गरिएको छ ।
बैठकले समितिको निर्णय–निर्देशन कार्यान्वयनको अनुगमन गर्ने जिम्मवारी संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई दिएको छ ।