'ह्याण्ड स्यानिटाइजर' अब औषधिजन्य सामाग्री, ३ महिनाभित्र दर्ता हुनैपर्ने

काठमाडौं, ८ चैत । विश्वव्यापी रुपमा कोरोना भाइसको संक्रमण फैलिएसँगै ह्याण्ड स्यानिटाइजरको माग ह्वात्तै बढेको छ । सामान्य उपभोग्य बस्तुका रुपमा उत्पादन र बिक्रिवितरण हुँदै आएको स्यानीटाइजर उत्पादकहरुले अब भने औषधि व्यवस्था विभागमा अनिवार्य दर्ता गर्नुपर्ने भएको छ ।
प्रविधिजन्य स्वास्थ्य सामाग्री तथा उपकरण सम्बन्धी निर्देशिका २०७४ मा यस्ता बस्तुहरुको नियमन औषधि व्यवस्था विभागबाट गर्न सक्ने व्यवस्था भएअनुसार स्यानिटाइजर उत्पादनलाई दर्ता, गुणस्तर जाँच एवं नियमनमा ल्याउन लागिएको हो । सो व्यवस्था अनुसार दर्ता प्रकृया सुरु गराउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले शुक्रवार निर्णय गरेका हुन् ।
सो निर्णय बमोजिम औषधि व्यवस्था विभागले आइतवार सार्वजनिक सूचना निकाली कार्यन्वयन थाल्ने जनाएको छ । विभागका महानिर्देशक नारायण ढकालले बजारमा स्यानिटाइजरको माग ह्वात्तै बढेसँगै यसमा नियमनको खाँचो भएको जनाए ।
अब यस्ता प्रबिधिजन्य स्वास्थ्य सामाग्री तथा उपकरणको उत्पादन, निकासी वा पैठारी, बिक्रिवितरण र दर्ता अनुमति एवं मापदण्ड विभागले निर्माण गर्नेछ । तीनमहिना भित्र सबै उत्पादक एवं पैठारीकर्ताले विभागमा प्रकृया पुरा गरि दर्ता हुनुपर्नेछ ।